नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार मन्त्रीस्तरीय निर्णयअनुसार अन्तरप्रदेशीय सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हो।
उनका अनुसार यात्रुवाहक तथा ढुवानी दुवै प्रकारका सवारीसाधनमा समान रूपमा ५ प्रतिशतले भाडा बढाइएको छ।
भाडा समायोजनको आधार इन्धन मूल्यमा भएको वृद्धि रहेको विभागले जनाएको छ। पछिल्लो समायोजनपछि डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन अघिल्लो १८० रुपैयाँ ८३ पैसाको तुलनामा ५५ रुपैयाँले बढी हो। यसले करिब ३०.४१ प्रतिशत मूल्यवृद्धि देखाउँछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।
यसअघि गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो। त्यतिबेला १३ वटा सूचकलाई आधार मानी यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको थियो।
त्यसयता इन्धनको मूल्य पुनः दुई पटक बढेपछि व्यवसायीहरूले भाडा पुनः समायोजनको माग गर्दै आएका थिए। विभागले वैशाख ९ गते मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानी सवारीका लागि पहाडी क्षेत्रमा करिब १४ प्रतिशत तथा तराईमा १२ प्रतिशतले समायोजन गर्न सिफारिस गरेको थियो।
तर अन्ततः मन्त्री सुनिल लम्सालले ५ प्रतिशतले मात्रै भाडा वृद्धि गर्ने निर्णय स्वीकृत गरेका हुन्।


