फायल फोटो
काठमाडौं । रवि लामिछानेले आफ्नै पार्टीका नेता तथा सांसदहरूको पछिल्लो विवादित अभिव्यक्तिलाई संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सेवकहरूको पार्टी भएको बताएका छन्। उनले पार्टीभित्र ‘मालिक’ बन्ने सोच राख्नेहरूका लागि स्थान नभएको स्पष्ट पार्दै सबैलाई यसबारे सचेत रहन आग्रह गरे।
उनले भने, “जसलाई मालिक बन्न मन छ, रास्वपा त्यस्तो ठाउँ होइन। हामी सेवक हौं, र यही भावना सबैमा हुनुपर्छ। मालिक बन्न चाहनेहरूका लागि अन्यत्रै अवसर होला।”
हालै रास्वपा सांसद विश्वराज पोखरेल र खगेन्द्र सुनारका अभिव्यक्तिहरूलाई लिएर विवाद उत्पन्न भएको थियो। यसबारे बोल्दै लामिछानेले दुवै विषय क्रमशः समाधानतर्फ उन्मुख रहेको बताए।
सांसद सुनारको अभिव्यक्तिबारे उनले दलित समुदायबाट आएको तीव्र प्रतिक्रिया स्वाभाविक भएको उल्लेख गर्दै त्यस्ता आवाजप्रति संवेदनशील हुनुपर्ने धारणा राखे। उनले भने, “वर्षौंदेखि दबिएको र प्रताडित समुदायको आवाज कहिलेकाहीँ चर्को हुन सक्छ, त्यसलाई नकारात्मक रूपमा लिनु हुँदैन। उनीहरूको पीडालाई सुन्नु आवश्यक छ।” यद्यपि उनले सबैले मर्यादाको दायरा भने पालन गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, सांसद पोखरेलले आफ्नो अभिव्यक्तिप्रति माफी मागिसकेको उल्लेख गर्दै लामिछानेले माफीलाई स्वीकार गरेर अघि बढ्नुपर्ने संकेत गरे।
