






काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको ठहर गरेको छ । सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संलग्न हुनेलाई कारबाही हुनुपर्ने बताए ।
उनले भने जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।
भिजिट भिषा प्रकरण बाहिर आएर गृहमन्त्रीमाथि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिका टिप्पणी हुन थालेपछि त्यसबारे छलफल गर्न पदाधिकारी बैठक बसेको थियो ।
प्रवक्ता महतले मन्त्री लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएकाले त्यसका पछि नलाग्न आग्रहसमेत गरेका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले दुई दिनअघि विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने मत राखेका थिए ।
विराटनगरमै आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिनुपर्ने कुनै तुक नरहेको बताएका थिए ।