काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षलाई पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार चयन गर्न सकस परेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा पनि भावी नेतृत्वका विषयमा सहमति जुट्न सकेको छैन। महाधिवेशन आयोजना गर्ने स्थलसमेत अझै टुंगो लागेको छैन।
कांग्रेस विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति बन्न पाउँदैनन्। त्यसैले उनको समूहमा उत्तराधिकारीका रूपमा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल र आकलन भइरहेको छ। उक्त समूहले महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने मिति तय गरेको छ।
देउवा पक्षमा पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको पारिवारिक विरासत बोकेका शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि छन्। देउवाले समर्थन गर्ने उम्मेदवारलाई नेतृत्वमा पुग्न सहज हुने आकलन समूहभित्र गरिएको छ।
यसैबीच, सभापतिको सम्भावित उम्मेदवारका रूपमा नेता एनपी साउदको नामसमेत चर्चामा आएको छ। चुनदेवीमा बुधबार भेटिएका केही जिल्ला तहका नेता तथा कार्यकर्ताले सहमतिका आधारमा सभापतिको उम्मेदवार चयन गर्न सके सकारात्मक सन्देश जाने बताएका छन्।
एक नेता तथा कार्यकर्ताका अनुसार देउवा पक्षमा साउदलाई भावी सभापतिका रूपमा हेरिएको छ। यद्यपि, यो औपचारिक निर्णय नभई चर्चामै सीमित रहेको उनको भनाइ छ।
नेता विमलेन्द्र निधिले सभापतिको उम्मेदवारबारे अहिलेसम्म छलफल नभएको बताएका छन्। उनले बाह्रखरीसँग कुरा गर्दै यस विषयमा छलफल गर्न बाँकी रहेको जानकारी दिए।
त्यस्तै, नेता मोहनबहादुर बस्नेतले सभापतिको उम्मेदवार चयन गर्ने विषय रणनीतिक भएकाले अहिले नै यसबारे छलफल गर्ने समय नभएको बताए। उनका अनुसार सकेसम्म सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने प्रयास हुनेछ। सहमति जुट्न नसके निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाइनेछ।
महाधिवेशनस्थलको टुंगो लाग्न बाँकी
सभापतिको उम्मेदवार चयनसँगै महाधिवेशन आयोजना गर्ने स्थल छनोट पनि चुनौती बनेको छ। आयोजक पक्षले काठमाडौंको खुलामञ्चलाई प्राथमिकतामा राखेको छ। त्यहाँ कार्यक्रम गर्न अनुमति नपाए भक्तपुरको सल्लाघारी चौरलाई वैकल्पिक स्थलका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका विभिन्न सम्भावित स्थलका विषयमा छलफल भइरहेको छ। तर, हालसम्म कुनै स्थान निश्चित भएको छैन।
कार्कीले भृकुटीमण्डपमा माइक प्रयोग गरेर कार्यक्रम गर्न नदिने निर्णय भएको भन्ने जानकारी आएको बताए। त्यस्तै, हालै भएको महाधिवेशनका कारण खुलामञ्चको दुबो बिग्रिएको भन्दै त्यहाँ कार्यक्रम गर्न अनुमति नपाइने हो कि भन्ने आशंका पनि रहेको उनले उल्लेख गरे।
उनका अनुसार सिफल चौर महाधिवेशनका लागि सानो हुने भएकाले खुलामञ्चमा अनुमति नपाए सल्लाघारी चौर उपयुक्त विकल्प हुन सक्छ।
खुलामञ्चमा कार्यक्रम गर्न अनुमति पाए त्यहीँ महाधिवेशन आयोजना गरिने र अनुमति नपाए सल्लाघारीलाई प्राथमिकता दिइने कार्कीले बताए।
सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान
कांग्रेसको १५औँ महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले उपयुक्त स्थल छनोट गर्नु आयोजकका लागि महत्त्वपूर्ण चुनौती बनेको छ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा देउवा पक्षले सभापतिको उम्मेदवार र कार्यक्रमस्थल दुवै विषयमा टुंगो लगाउनुपर्ने देखिएको छ।
