काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज हाइड्रो समूह र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा रातो पोतिएको छ । हाइड्रो समूह ०.०८ प्रतिशत बढेको भने उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशत बढेको छ ।
सर्वाधिक घट्नेमा अन्य समूह रहेको छ । यो समूह आज १.३९ प्र्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूह ०.७४ प्रतिशत, विकास बैंक समूह ०.६७ प्रतिशत, फाइनान्स समूह ०.६० प्रतिशत, होटल तथा पर्यटन समूह ०.४४ प्रतिशत, लगानी समूह १.१२ प्रतिशत, जीवन बीमा समूह ०.७१ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४९ प्रतिशत, निर्जीवन बीमा समूह ०.४८ प्रतिशत र व्यापार समूह १.०६ प्रतिशतले घटेको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘सेयरबजारलाई प्राविधिक रुपमा हेर्दा अहिलेको मार्केट करेक्टिभ वे मा नै रहेको देखिन्छ, दुईचार दिनअघि सेयरबजारमा राम्रो बाउन्सब्याक देखिएपनि भोल्युम न्यून विन्दुमा रहेकाले त्यसलाई मोटिभ वे मा लिन सकिँदैन ।
अहिले बजारमा नयाँ कम्पनी बाहेक अन्य कम्पनीका सेयरमूल्य बढ्न सकिरहेको छैन । दैनिकी कारोबार पनि नयाँ कम्पनीहरुको मात्रै छ । यसरी नै करेक्टिभ वे मा मार्केट चल्ने हो भने २६७० विन्दु टेस्ट गर्ने सम्भावना रहन्छ । दुई चार दिनयताको मार्केट हेर्दा बजारमा सुधार देखिएपनि भोल्युम राम्रो छैन ।
बजारमा अझै एउटा वेभ आएपछि मात्रै बजार बढ्ने सम्भावना रहन्छ, तर भोल्युमले साथ नदिएका कारण तत्कालै पोजेटिभ मुभमेन्ट आउछ भन्न यकिन गर्न सकिँदैन ।’

