फायल फोटो
काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा ढुवानी सेवाको भाडा बढाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृतिपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गर्ने तयारी गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारी साधनतर्फ पनि भाडा उल्लेख्य रूपमा बढाइएको छ। पहाडी क्षेत्रमा सञ्चालन हुने ढुवानी सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।
यातायात व्यवस्था विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। विभागका अनुसार, मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भइसकेकोले अब कार्यान्वयन प्रक्रिया अगाडि बढाइनेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सञ्चालन लागत बढ्दै जाँदा व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए। नयाँ भाडादर लागू भएपछि सर्वसाधारणको दैनिक आवतजावत खर्च बढ्नेछ भने ढुवानी महँगो हुँदा उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्न सक्ने देखिएको छ।
