Premier Cables
Premier Steel

शिक्षा

एसईई परीक्षाः एक महिनाभित्रै रिजल्ट आउने

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने निर्णय गरेको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित परीक्षा भएकै स्थानबाट जाँच प्रक्रिया अगाडि बढाइने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले नतिजा छिटो सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले यस्तो व्यवस्था गरेको हो । एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार मन्त्रालयको निर्देशनअनुसार परीक्षा केन्द्रमै परीक्षण केन्द्र स्थापना गरी उत्तरपुस्तिका जाँच गरिनेछ ।

बिज्ञापन

उनका अनुसार जहाँ शिक्षक अभाव छ वा परीक्षणका लागि असुरक्षित अवस्था देखिन्छ, त्यस्ता स्थानमा शिक्षा विकास तथा समन्वय एकाइमार्फत अन्यत्र व्यवस्था गरिनेछ । आवश्यक परेमा परीक्षण केन्द्र सार्न सकिने भए पनि अधिकांश स्थानमा भने आफ्नै केन्द्रबाट जाँच हुने उनले बताए ।

अघिल्ला वर्षहरूमा भने उत्तरपुस्तिका परीक्षणका लागि गोप्य केन्द्र तोकिन्थ्यो र एक प्रदेशका कापी अर्को प्रदेशमा पठाएर जाँच गरिन्थ्यो । यसपटक भने उक्त प्रणाली परिवर्तन गरी स्थानीय स्तरमै परीक्षण गरिने भएको हो ।

यसअघि एसईईको नतिजा प्रायः असारको दोस्रो सातातिर सार्वजनिक हुने गरे पनि ढिलाइ हुने गुनासो बढ्दै आएको थियो । ढिला नतिजाका कारण विद्यार्थीमा मानसिक दबाब बढ्नुका साथै ब्रीज कोर्सजस्ता अतिरिक्त कक्षाले अनावश्यक तनाव दिने गरेको बताइँदै आएको छ । यसलाई मध्यनजर गर्दै मन्त्रालयले ब्रीज कोर्स सञ्चालनमा रोक लगाउने निर्णय समेत गरिसकेको छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले चैत १९ गतेदेखि एसईई परीक्षा सुरु हुने जनाएको छ । मूलतः चैतको पहिलो सातामा हुनुपर्ने परीक्षा २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावका कारण पछि सारिएको हो । बोर्डका अनुसार परीक्षा सञ्चालनका सबै तयारी पूरा भइसकेका छन् ।

परीक्षा सुरु हुनु अघि मन्त्री पोखरेलको सहभागितामा प्रदेश र जिल्ला तहका अधिकारीहरूसँग भर्चुअल बैठकसमेत सम्पन्न भइसकेको छ । सबै ७७ जिल्लाबाट तयारी पूरा भएको जानकारी प्राप्त भएको परीक्षा नियन्त्रक अधिकारीले बताए ।

प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको छ भने केन्द्राध्यक्षहरू पनि खटाइसकिएको छ । परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिनेछ ।

यस वर्ष एसईई सञ्चालनका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ, जसमा एक केन्द्र जापानमा रहेको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य समूहका विद्यार्थी रहेका छन् । जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।

एसईईलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्न बोर्डले सबै सरोकारवालासँग सहयोगको अपिल समेत गरेको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka