काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राज्य सञ्चालनको उच्च तहमा अनुशासन र पारदर्शिता कायम गर्न प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका लागि दैनिक ‘मापसे’ (मादक पदार्थ सेवन) र ‘लापसे’ (लागु पदार्थ सेवन) परीक्षण अनिवार्य गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारका जिम्मेवार पदाधिकारीहरू शारीरिक र मानसिक रूपमा स्वस्थ तथा स्वच्छ हुनुपर्नेमा जोड दिएका छन् । देशमा सुशासन र समग्र स्वास्थ्य सुनिश्चित गर्न यस्तो अभ्यास आवश्यक हुन सक्ने उनको भनाइ छ ।
“प्रधानमन्त्रीसहित सरकारमा रहेका सबै मन्त्रीहरूको दैनिक मापसे र लापसे जाँच हुनुपर्छ । सांसदहरूको पनि अनिवार्य रूपमा परीक्षण गरिनुपर्छ,” उनले उल्लेख गरेका छन् ।
उनको प्रस्तावसँगै सार्वजनिक पदमा रहने व्यक्तिहरूको आचरण, जवाफदेहिता र कार्यक्षमताबारे नयाँ बहस सुरु भएको छ । पछिल्लो समय सुशासन, पारदर्शिता र नैतिक जिम्मेवारीप्रति बढ्दो चासोका बीच यस्तो धारणा आएको हो ।
यद्यपि, यस्तो प्रस्ताव कार्यान्वयन गर्न कानुनी व्यवस्था, गोपनीयता र मानव अधिकारसँग सम्बन्धित विषयमा विस्तृत छलफल आवश्यक हुने देखिन्छ ।
