छिटपुट घटनाहरूलाई छोडेर, आमनिर्वाचन २०८२ देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यस निर्वाचनले नेपाली जनताको लोकतन्त्रप्रतिको निष्ठा र सक्रिय सहभागितालाई पुनः प्रष्ट रूपमा देखाएको छ। परिणाम जेसुकै आए पनि, यो निर्वाचन देशलाई नयाँ कोर्समा लैजाने आशा र विश्वासको संकेत हो।
निर्धारित समयमै निर्वाचन सम्पन्न गराउनुमा प्रधानमन्त्री सुशीला कार्कीले पुर्याएको योगदान उल्लेखनीय छ। उनको नेतृत्वमा मध्यावधि निर्वाचन गराउने प्राथमिक दायित्व सफलतापूर्वक पूरा भयो, जुन तत्कालीन राजनीतिक परिस्थितिमा सजिलो थिएन। भदौ २३ र २४ का आन्दोलन र विध्वंसले देशलाई अभूतपूर्व संकटमा धकेल्दा, सुशीलाले जेनजी युवाहरूको प्रस्तावअनुसार कार्यकारी प्रमुख बन्ने चुनौती स्वीकारिन्। त्यतिबेला सिंहदरबार जलेको, धुवाँ उडिरहेको, कुर्सी-टेबल नहुँदो अवस्था पनि उनी साहसपूर्वक सामना गरिन्।
उनको प्रधानमन्त्री नियुक्ति संवैधानिक रूपमा विवादास्पद भए तापनि उनले ‘आवश्यकताको सिद्धान्त’को आधारमा नेतृत्व ग्रहण गरिन्। विगतमा प्रधानन्यायाधीश भइसकेकी सुशीलाले संविधानबाहिरबाट प्रधानमन्त्री बन्ने जोखिम लिइन् र सत्ता सुम्पिन आफ्नो एकल लक्ष्यमा केन्द्रित रहिन्। उनका चार मन्त्रीले बीचमै राजीनामा दिएका थिए, तर गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री डा. रामेश्वर खनालले उनलाई बलियो साथ दिए।
निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक आँकडा आएको छ। ठूलो झडप वा अप्रिय घटना नभएको तथ्यले यो निर्वाचनको शान्तिपूर्ण सफलतामा उत्साह थपेको छ। देशकी पहिलो महिला प्रधानमन्त्रीको कार्यकालले महिलाको क्षमता र नेतृत्व क्षमतामाथि उठेका प्रश्नहरूको जवाफ पनि बनेको छ।
अब देश नयाँ कोर्समा प्रवेश गरेको छ। आगामी सरकारप्रति जनताको अपेक्षा उच्च छन्। भदौ २४ को विध्वंसपछि भएको क्षतिपूर्ति र विकासका चुनौतीका बीच, नयाँ सरकारसँग समन्वयकारी नेतृत्व, राजनीतिक सुझबुझ र वास्तविक परिवर्तन देखाउने क्षमता आवश्यक छ। केवल सस्तो लोकप्रियता र स्टन्टले जनताको अपेक्षा पूरा हुने छैन; भविष्यको सरकारले जनतालाई विकास र समृद्धिको स्पष्ट अनुभूति दिन सक्नुपर्नेछ।
यो निर्वाचनले संविधानलाई लिकमा ल्याएको मात्र होइन, राजनीतिक दलहरूलाई जनतामाझ परीक्षित गरेको छ। जित्ने वा हार्ने, सबैले लोकतन्त्रको सम्मान गर्दै परिणाम स्वीकार गर्दा मात्र प्रजातान्त्रिक संस्कार बलियो हुन्छ। आमनिर्वाचन २०८२ ले यही संदेश दिन्छ – लोकतन्त्रको जित, देशको भविष्यमा विश्वास र नयाँ यात्राको प्रारम्भ।
