






विराटनगर । एक जना सात वर्षीया छात्रालाई बाल यौन दुर्व्यवहार गरेको अभियोगमा विराटनगरस्थित जनता नमूना माध्यमिक विद्यालयका एक जना शिक्षकलाई अदालतले कैद सजाय सुनाएको छ ।
जिल्ला अदालत मोरङले विद्यालयका शिक्षक ओजेस भगतलाई एक वर्ष कैद सजाय सुनाएको हो । अदालतले पीडित बालिकालाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सजाय र क्षतिर्पूति दिनुपर्ने सजाय सुनाएको हो । बुढाथोकीले भने,“कसुर कायम भएकोले त्यससम्बन्धी सजाय भएको हो ।”
विराटनगर महानगरपालिका वडा नं २ का ५८ वर्षीय भगत दुई वर्षपछि अनिवार्य अवकाशमा जाँदैछन् । उनीमाथि नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गत फागुन महिनामा पक्राउ गरिएको थियो । प्रारम्भिक अनुसन्धानपछि धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चैत १५ गते जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो । यस सम्बन्धी भिडियो समाचार हाम्रो विराटनगरमा समेत प्रकासन र प्रसारण भएको थियो ।
त्यसबेला संवाददाता विद्यालय परिसर पुग्दा भगतलाई पक्राउ गर्न कुनै पहल भएको थिएन । तर, संचारकर्मीसमेतको दबाबमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि आएको प्रहरी टोलीले भगतलाई पक्राउ गरेको थियो ।
भगतमाथि बैसाख ३० मा दोषी ठहर भई कसुर प्रमाणित भएको थियो । उनले जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्ने बताइएको छ ।
पीडित छात्राकी आमाले त्यसबेलै आफ्नी छोरीलाई कक्षाकोठामै शिक्षक भगतले यौनजन्य दुव्र्यवहार गर्ने गरेको बताएकी छिन् ।
अदालतमा न्यायका लागि आफूहरुले पहल गरेको र न्याय पाएको बताउँदै उनले भनिन्,“एक अवोध छात्रालाई गलत क्रियाकलाप गर्ने शिक्षकलाई बल्ल सजाय भएको छ ।”