Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ ४ र ६ मा चुनावी सरगर्मी बढ्यो, कुन उमेदवारले के भन्दैछन् मतदातासँग ?

Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | साँझ ४:०२ बजे

विराटनगर । मोरङका निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा चुनावी प्रचार-प्रसार तीव्र बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू विकास, सुशासन र परिवर्तनका एजेन्डा लिएर मतदातामाझ पुगेका छन्।

मोरङ-६ मा घरदैलोदेखि भर्चुअल अभियानसम्म

मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले प्रचार अभियानलाई तीव्र बनाएका छन्। प्रारम्भिक चरणमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थासँग छलफल र आन्तरिक तयारी सकेपछि उनी अहिले वडागत रूपमा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरिरहेका छन्।

विराटनगर-१२ मा आयोजित कार्यक्रममा उनले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको दाबी गरे। पाँच करोड रुपैयाँ बजेट व्यवस्थापन गरी भवन निर्माण सम्पन्न गरिएको उनको भनाइ छ। साथै, विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै वर्षायाममा केसलिया खोलाबाट हुने समस्याको स्थायी समाधानका लागि सुदृढ तटबन्धन निर्माणलाई प्राथमिकता दिने योजना उनले सुनाए।

सोही क्षेत्रमा एमाले उम्मेदवार विनोद ढकाल भने पितृशोकमा परेकाले काजकिरियामा छन्। प्रत्यक्ष रूपमा मतदातासँग भेट्न नसके पनि उनले सामाजिक सञ्जालमार्फत आफ्ना योजना र क्षेत्र विकासको खाका सार्वजनिक गरिरहेका छन्। उनका परिवारका सदस्य र पार्टी कार्यकर्ता भने घरदैलो अभियानमा सक्रिय छन्।

रास्वपा उम्मेदवार रुबिना आचार्यले पनि प्रचारलाई तीव्रता दिएकी छन्। घरघर पुगेर परिवर्तन र सुशासनको पक्षमा मतदान गर्न आग्रह गर्दै उनले भ्रष्टाचारविरुद्ध आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताएकी छन्। नेकपा उम्मेदवार ओपेन्द्र रायले पार्टीको स्थानीय संगठनको कार्ययोजनाअनुसार अभियान अघि बढिरहेको जानकारी दिएका छन्। यस क्षेत्रमा शेखर कोइरालाबाहेक अन्य प्रमुख उम्मेदवार नयाँ अनुहार हुन्।

मोरङ-४ मा विकास र निरन्तरताको बहस

मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार गुरुराज घिमिरे चुनावी अभियानमा सक्रिय छन्। पार्टीभित्र छलफल सकेपछि उनी गाउँ र टोलस्तरीय कोणसभामा केन्द्रित छन्। सडक, पुल, सिंचाइ, शिक्षा र स्वास्थ्यका पूर्वाधार निर्माणसँगै रोजगारी र मानव संसाधन अभाव समाधानलाई प्राथमिकतामा राखेर चुनावमा होमिएको उनले बताएका छन्। विराटनगर रिङरोड र गिरिजाप्रसाद कोइराला रंगशालाजस्ता अधुरा आयोजना सम्पन्न गर्ने योजना पनि उनले अघि सारेका छन्।

यसै क्षेत्रका नेकपा उम्मेदवार अमनलाल मोदी घरदैलो र सभामार्फत मतदातासँग भेटघाट गरिरहेका छन्। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनले आफ्नो संसदीय अनुभव र उठाएका मुद्दाबारे मतदातालाई स्मरण गराउँदै पुनः अवसर दिन आग्रह गरेका छन्।

एमालेका जीवन घिमिरे सहर तथा गाउँ केन्द्रित कार्यक्रममा सक्रिय छन्। प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहँदा गरेका कामलाई आधार बनाउँदै संघीय संसदमा पुगेपछि पनि त्यस्तै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। सिंघिया बाँध निर्माणलगायत विकास योजनालाई घोषणापत्रमा समेटेको उनको भनाइ छ।

रास्वपा उम्मेदवार सन्तोष राजवंशी पनि गाउँ केन्द्रित घरदैलो अभियानमा व्यस्त छन्। नयाँ नेतृत्वलाई अवसर दिन र परिवर्तनका पक्षमा मतदान गर्न उनी मतदातासँग अपिल गरिरहेका छन्।

मोरङका दुवै क्षेत्रमा उम्मेदवारहरू विकास, सुशासन र परिवर्तनका नारासहित मतदातामाझ सक्रिय बन्दै जाँदा चुनावी माहोल थप तातिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka