काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी) भर्ना प्रक्रिया अघि बढाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको हो ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि–२०८२ अनुसार म्यादी प्रहरी भर्नाको तयारी गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीद्वारा जारी सूचनाअनुसार इच्छुक नेपाली नागरिकहरूले आगामी माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसपटकको भर्नामा सुरक्षा निकायमा अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने भएको छ । पूर्व नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरू आवेदन दिन सक्नेछन् । साथै, विदेशी सुरक्षा फौजमा कार्यअनुभव भएका व्यक्तिहरूलाई पनि प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी, २०८२ पुससम्म सेना, प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएका उम्मेदवारहरू र अघिल्ला निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा कार्य गरिसकेका व्यक्तिहरूलाई समेत छनोट प्रक्रियामा प्राथमिकता दिइने जनाइएको छ ।
भर्नाका लागि पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट २ इन्च र महिलाको ४ फिट १० इन्च तोकिएको छ । महिला आवेदक गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।
प्राप्त आवेदनहरूबाट छनोट भएका उम्मेदवारहरूको प्रशिक्षण आगामी माघ १५ गतेदेखि सुरु गरिनेछ । तालिम सम्पन्न भएपछि उनीहरूलाई देशभरका विभिन्न मतदान केन्द्रहरूमा निर्वाचन सुरक्षाका लागि खटाइनेछ ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले ठुलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गर्न लागेको जनाएको छ ।
