काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि देशभर मतदान जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा उत्साहजनक रूपमा मतदान भइरहेको छ। तर केही दुर्गम क्षेत्रका मतदाताले भने मतदान प्रक्रियामा सहभागीता जनाएका छैनन्।
दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका मतदाता दिउँसो साढे ३ बजेसम्म पनि मतदान गर्न नआएको जनाइएको छ। जिल्लाकै दुर्गम मानिने उक्त स्थानको वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारीहरू मतदाताको प्रतीक्षामा बसेका छन्। जिल्ला निर्वाचन अधिकारी अप्सरा खत्रीका अनुसार सो केन्द्रमा ११३ मतदाता रहेका छन् भने मतदान अधिकृतसहित पाँच जना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएका छन्।
यस्तै दार्चुलाको अपिहिमाल गाउँपालिका–३ का भट्टार, रजिउडा, धामीगाउँ र झस्कुचौड क्षेत्रका मतदाताले पनि मतदान गरेका छैनन्। त्यहाँका स्थानीयले मतदान केन्द्र टाढा भएको भन्दै मतदान केन्द्र पुग्न ३–४ घण्टा लाग्ने समस्या रहेको उल्लेख गर्दै वडा विभाजन गरी सहज व्यवस्था गर्न माग गरेका थिए। फागुन ११ गते गाउँपालिकामा पत्र बुझाए पनि माग पूरा नभएको भन्दै मतदाताले मतदान बहिष्कार गरेका हुन्।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सहिद आधारभूत विद्यालय मतदान केन्द्रमा पनि स्थानीय मतदाता मतदान गर्न पुगेका छैनन्। प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले बजेट नदिएको भन्दै स्थानीयले मतदान नगरेको जनाइएको छ। उक्त केन्द्रमा ७०१ मतदाता रहेका छन् भने ६ जना कर्मचारी खटिएका छन्।
त्यसैगरी दाङको बबई गाउँपालिका–७ तल्लो मलैखोलास्थित देउती माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि अपराह्न ४ बजेसम्म एक मत पनि खसेको छैन। ५३० मतदाता रहेको उक्त केन्द्रमा हालसम्म मतदान नभएको मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिएका छन्।
यसैबीच ओखलढुंगाकै मानेभन्ज्याङ गाउँपालिकाको टोक्सेलस्थित अर्को मतदान केन्द्रमा पनि कुनै मतदाता मतदान गर्न नआएको जनाइएको छ। उक्त केन्द्रमा ८०१ मतदाता रहेका छन्।
