Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा व्यवस्था कडा

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २०, २०८२  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशमा हुन गइरहेको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय, कोशीका अनुसार मतपेटिका, मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मीहरू सम्बन्धित मतदान केन्द्रहरूमा पुगिसकेका छन्। मतदाताले सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको प्रदेश निर्वाचन कार्यालय कोशी, विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिएका छन्।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सुरक्षा निकायले विशेष रणनीति अपनाएको जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय ३९ ‘अतिसंवेदनशील’, ८ सय २१ ‘संवेदनशील’ र ६ सय ४७ ‘सामान्य’ सूचीमा वर्गीकृत गरिएका छन्। सोही अनुसार सुरक्षा परिचालन गरिएको छ।

सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन नेपाली सेनाले पनि सक्रिय भूमिका निर्वाह गरिरहेको छ। प्रदेशका सबै जिल्लाका १२० स्थानमा बम डिस्पोजल टोली परिचालन गरिएको छ। सम्भावित विस्फोटक पदार्थ, शंकास्पद वस्तु तथा गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको जनाइएको छ।

मतदानको अघिल्लो दिनदेखि नै संयुक्त सुरक्षा गस्ती, चेकजाँच तथा निगरानी बढाइएको छ। निर्वाचन कार्यालयका अनुसार कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन्। तीमध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य मतदाता रहेका छन्।

विशेष परिस्थितिमा रहेका मतदाताका लागि २४ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका नागरिकलाई मतदानको अवसर सुनिश्चित गरिएको छ।

केही स्थानमा आचारसंहिता उल्लंघनका घटना देखिए पनि सम्बन्धित निकायमार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख दंगालले बताए। मौन अवधिमा प्रचारप्रसार, सामाजिक सञ्जाल गतिविधि तथा समूहगत प्रदर्शनमाथि निगरानी कडा पारिएको छ।

कोशी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्र रहेका छन् भने ४ सय ९५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउँदै उत्साहपूर्वक मतदान गर्न प्रमुख दंगालले सबै मतदातालाई अपिल गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka