विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को मोरङ क्षेत्र नम्बर ४ र ५ का क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि एक-एक जना उम्मेदवारको नाम सिफारिस गरेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यी दुवै क्षेत्रबाट एकल उम्मेदवारको नाम अघि बढाइएको हो।
क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री अमनलाल मोदीको नाम एकल रूपमा सिफारिस गरिएको छ। मोदी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनको नाम मोरङ क्षेत्र नम्बर ६ बाट पनि सिफारिस गरिएको छ।
त्यस्तै, क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको छ। मण्डल २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र सांसद योगेन्द्र मण्डलसँग पराजित भएका थिए।
अन्य क्षेत्रका सिफारिस उम्मेदवार
६ वटा क्षेत्र रहेको मोरङमा अन्य क्षेत्रबाट पनि विभिन्न उम्मेदवारको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ६ बाट प्रदेश सांसद तथा प्रदेशका पूर्वमन्त्री जीवन आचार्यसहित अमनलाल मोदी, वसिम आलम, ओपेन्द्र राय, विनोद प्रभात घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मो. आलम प्रवेज, अंकिता आले र साइमन रेग्मीको नाम सिफारिस भएको छ। अंकिता आले जेनजी समूहकी हुन्।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोशीश सुवेदी (जेनजी), कल्पना राई, विरन्द्र चेञ्जोङ, नगेन्द्र धिमाल, राजेन्द्र दंगाल र दीपक काफ्लेको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर २ बाट प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल भण्डारी (जेनजी) सिफारिसमा परेका छन्।
क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, देउमान सुव्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु (जेनजी) र चन्द्रकला सुब्बाको नाम सिफारिस गरिएको छ।
