विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै देशका तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ । पुस ९ गतेदेखि ११ गतेसम्मको पूर्वानुमान अनुसार तराई क्षेत्रको जनजीवन चिसो र न्यून भिजिबिलिटीका कारण प्रभावित हुन सक्ने देखिएको छ।
विभागका अनुसार बुधबार कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा मध्यान्नसम्म हुस्सु रहनेछ भने बाँकी तराईका क्षेत्रहरूमा दिनभरि नै कुहिरो लाग्ने सम्भावना छ । पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा पनि तराईमा हुस्सुको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।
बिहीबार र शुक्रबार पनि तराईका भू–भागमा हुस्सु र कुहिरोको सिलसिला जारी रहनेछ । पहाडी भेगमा भने मौसममा केही फेरबदल आउने देखिएको छ। बिहीबार सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ। शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिस्सामा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने विभागले जनाएको छ ।
तराईमा लाग्ने बाक्लो कुहिरोका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन अनुरोध गरेका छन् । विशेषगरी बिहानीपखको यात्रामा विशेष ध्यान दिन र बढ्दो चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन विभागले सर्वसाधारणमा आग्रह गरेको छ ।
पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहे पनि न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोको जोखिम भने कायमै रहनेछ ।
