काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, हावाहुरी तथा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसमविद्हरूका अनुसार बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।
चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ। नेपालसम्म आइपुग्दा यसको प्रभाव समुद्री चक्रवातको जस्तो तीव्र नरहने भए पनि यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाका कारण भारी वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार लुम्बिनी र गण्डकी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। यद्यपि, वर्षा हुने स्थान, समय र मात्रामा परिवर्तन आउन सक्ने उनले बताएका छन्।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चक्रवातको प्रभावका कारण कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा मौसम प्रतिकूल हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको जनाइएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले शुक्रबारदेखि नेपालमा चक्रवात ‘अर्नब’को प्रभाव देखिन सक्ने संकेत गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा टार्न र नदी तथा खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न आग्रह गरिएको छ।
त्यस्तै, मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्राधिकरणले सबैलाई अनुरोध गरेको छ।
