Premier Cables
Premier Steel

समाचार

लयमा फर्कदै इटहरी यातायात कार्यालय, सेवा चुस्त बनाउन प्रयास

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines

सुनसरी । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको प्रदर्शनमा ध्वस्त बनेको इटहरीस्थित यातायात व्यवस्था कार्यालय अनेक चुनौतीका बीच पुनः लयमा फर्कन संघर्षरत छ।

प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको कार्यालयले हाल अस्थायी संरचना निर्माण गरी सेवा प्रवाहलाई निरन्तरता दिँदै आएको छ। आन्दोलनका बेला भएको आगजनीबाट कार्यालयमा करिब ५ करोड २८ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो।

बिज्ञापन

आगलागीबाट ट्र्याक्टर शाखाबाहेक अन्य सबै शाखाका सवारी दर्ता किताब (ढड्डा) र सवारीसाधनसम्बन्धी सम्पूर्ण फाइल जलेर नष्ट भएका छन्। खरानी सम्हाल्दै कार्यालयले गत असोज २९ गतेदेखि इजाजतपत्र, सवारी जाँचपास र अस्थायी इजाजतपत्र सेवा आंशिक रूपमा सुरु गरेको थियो। त्यसपछि अस्थायी संरचनाबाट कात्तिक ३० गतेदेखि सबै सेवा पुनः सञ्चालनमा ल्याइएको छ।

हाल सम्पूर्ण सेवा सञ्चालनमा आए पनि कार्यालयको भौतिक संरचना ध्वस्त भएकाले सवारीधनीका फाइलहरूको सुरक्षामा चुनौती रहेको छ। सवारी दर्ता किताब र सम्बन्धित फाइल जलेर नष्ट भएकाले नामसारी, सरुवा तथा प्रतिलिपि जारी गर्न पुनः फाइल तयार गर्नुपर्ने अवस्था छ, जसका कारण सेवा प्रवाहमा ढिलाइ भइरहेको कार्यालयको भनाइ छ। यद्यपि, समस्याहरू क्रमशः सुधार गर्दै सेवा प्रभावकारी बनाइँदै गएको दाबी गरिएको छ।

कार्यालयका अनुसार सवारी दर्ता किताब नष्ट हुँदा विदेशमा रहेका नेपाली नागरिकको सवारीसाधन स्वामित्व हस्तान्तरणमा समेत समस्या देखिएको छ। यसैगरी, सवारीसाधनको प्रदूषण परीक्षण सेवा पनि यस कार्यालयबाट सञ्चालन हुँदै आएको भए तापनि आवश्यक उपकरण नहुँदा उक्त सेवा हाल प्रभावित छ।

क्षतिग्रस्त भवनको पुनर्निर्माण तथा सबलीकरणका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको कार्यालयले सेवा सञ्चालनका लागि आवश्यक थप कम्प्युटर, प्रिन्टर, फर्निचर तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकार र सहयोगी निकायसँग समेत सहयोग माग गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka