नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया जारी छ । काठमाडौंको भृकुटीमण्डपमा पार्टीको निर्वाचन प्रक्रिया सञ्चालन भइरहेको छ ।
पार्टी निर्वाचन आयोगले विभिन्न पदका लागि उमेदवारी शुल्क तोकेको छ । अध्यक्ष पदका उमेदवारले १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, केन्द्रीय पदाधिकारीका लागि उमेदवारी शुल्क १० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ ।
केन्द्रीय आयोग अध्यक्ष पदका उमेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यका लागि पाँच हजार रुपैयाँ उमेदवारी शुल्क तोकिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।
पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
