काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु गरिएको छ ।
निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना थाल्ने र साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी प्रक्रियाका कारण केही ढिलाइ हुन सक्ने भए पनि निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको छ ।
उनले भने, “कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्न सक्छ, तर साढे १० बजेसम्म परिणाम सार्वजनिक गर्ने हाम्रो प्रयास छ।”
भृकुटीमण्डपमा ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको थियो । कुल २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहेका छन् ।
अब विद्युतीय भोटिङ मेसिनमा रहेका चिप्सलाई मुचुल्का गरी शिलबन्दी गरिनेछ । त्यसपछि उम्मेदवार तथा उनीहरूका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सुरु गरिने आयोगले जनाएको छ ।
८० वटा मेसिन १० वटा कमाण्डबाट सञ्चालन भएका थिए, प्रत्येक कमाण्डमा ८ वटा मेसिन रहेका छन् र प्रत्येक मेसिनमा एक–एक चिप्स रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
एमालेले भृकुटीमण्डपमै मतपरिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने तथा शपथग्रहण कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ ।
नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन् भने प्यानलबाहिरका केही उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
