Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बिहारमा किन हार्यो महागठबन्धन ?

Calendar शनिबार, कार्तिक २९, २०८२  | बिहान १०:३४ बजे

काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले ऐतिहासिक जित दर्ता गरेको छ। यस ऐतिहासिक जितमा भारतीय जनता पार्टी (बीजेपी) र जनता दल युनाइटेड (जेडीयू) ले मात्र होइन, उनीहरूका सबै सहयोगी दलले पनि अभूतपूर्व जित हासिल गरेका छन्।

विपक्षी महागठबन्धनको ठूलो हार भयो भने यसको सबैभन्दा ठूलो कारण यसको सबैभन्दा ठूलो दल राष्ट्रिय जनता दल (आरजेडी) ले बेहोरेको शर्मनाक पराजय हो ।

बिज्ञापन

प्रारम्भिक मतगणनामा स्वयं तेजस्वी यादव राघोपुरबाट पछि परिरहेका थिए, यद्यपि पछि उनले अग्रता लिए। तर महुआ, तारापुर, मोकामा, अलिगञ्ज, सिवान र छपरा जस्ता अनेकौँ विधानसभा सीटहरूमा गठबन्धन पछि पर्‍यो।

मतदानको दिनसम्म सत्ता परिवर्तनको दाबी गर्ने गठबन्धन र यसका नेताहरू यसरी किन धाराशायी भए, यसका केही खास कारणहरू देखिएका छन्।

बिहारका मतदाताले महागठबन्धनलाई भोट त दिए तर सीटको समीकरणका कारण ती सीटहरूमा विजय हुन सकेन । तेजस्वी यादवको आरजेडीले हार्‍यो मात्र होइन, मतदाताले उनलाई पूरै अस्वीकार गरेका छन्। लालु यादवका छोरा अस्वीकृत हुनुका केही कारणहरू :


१. सीट बाँडफाँडमा आपसमा कलह र प्राथमिकतामा यादवहरू

लामो समयदेखि चुनावी आँकडा र राजनीतिक पण्डितहरूले बिहारमा जातिको आधारमा मतदान हुन्छ कुरा भन्दै आएका छन्। सम्भवतः यही कारणले तेजस्वीले यही जातिको आधारमा चुनावमा ५२ यादवहरूलाई टिकट बाँडे, जुन पार्टीका कुल १४३ उम्मेदवारहरूको ३६ प्रतिशत हो।

स्मरण रहोस्, २०२० मा ४० यादवहरूलाई टिकट दिएका थिए। यसले गर्दा जातिवादलाई बढावा दिने उनको छवि थप बलियो मात्र भएन, गैर-यादव मतदाता पनि उनीबाट टाढिए। बिहारमा यादवहरूको कुल संख्या करिब १४ प्रतिशत छ।

तेजस्वीले यति ठूलो संख्यामा यादवहरूलाई टिकट बाँडेपछि एनडीएले आरजेडीको ‘यादव राज’ को भाष्यको प्रचार गर्‍यो । उनीहरूले राज्यमा फेरि यादव बहुल सरकार चाहेको भन्ने सन्देश पनि गयो। सहरी र मध्यम वर्गका मतदातामा यो सन्देशको प्रभाव पर्‍यो ।

यही कारण हो, बिहारमा १२६ यादव बहुल सीटहरूमध्ये ५२ मा आफ्ना उम्मेदवार उतारे पनि आरजेडीका एक तिहाइभन्दा कम, १७ उम्मेदवारहरूले मात्र सफलता पाए। कुल मिलाएर महागठबन्धनका केवल २० यादव उम्मेदवारले मात्र जित हासिल गर्न सके। जबकि एनडीएले यी १२६ यादव बहुल सीटहरूमध्ये १०२ मा आफ्नो पकड बनायो।

२. अपत्यारिलो नारा

तेजस्वी यादवले आफ्ना चुनावी वाचाहरूमा राज्यका हरेक परिवारमा एक सरकारी नोकरी दिने वाचा गरेका थिए तर यो कसरी हुन्छ भन्ने कुरा उनले बताउन सकेनन्। नोकरी दिनुका साथै उनले पेन्सन दिने र महिला समूह ‘जीविका दिदी’ हरूलाई ३० हजार दिने वाचा पनि गरेका थिए। तर, मतदातालाई तेजस्वीले यो पैसा कहाँबाट ल्याउँछन् भनेर बुझाउन सकेनन् । यसलाई लागू गर्ने उनको योजना के छ भन्नेमा पनि उनले जनतालाई विश्वास दिलाउन सकेनन्।

उनले केवल दुई दिनभित्र उनी यसको योजनाबारे कुरा गर्ने बताइरहे तर दुवै चरणको मतदान समाप्त भए पनि ती दुई दिन आएनन्। कुल मिलाएर हरेक परिवारमा एक सरकारी नोकरी दिने तेजस्वी यादवको वाचा बिहारको युवा पुस्ताको मनमा बसेन।

३. ईबीसी र सहयोगी पार्टीहरूको असफलता

अत्यन्त पीछडिएको वर्ग (ईबीसी) मा १३० भन्दा बढी समुदायहरू छन् । तेजस्वीले उनीहरूसँग मतदानको एक-दुई दिन अघि कुरा गर्न थाले। फलतः बिहारमा रहेका १४१ ईबीसी सीटहरूमध्ये एनडीएले १२५ मा आफ्नो अग्रता बनायो, जबकि महागठबन्धन यहाँ केवल १४ सीटहरूमा सीमित भयो।

पहिले यी ईबीसी सीटहरूमध्ये ६१ मा महागठबन्धनका विधायक थिए, जबकि एनडीएले यसमा अधिकतम ७८ सीटहरू जितेको थियो। यस पटकको चुनावी नतिजामा एनडीएले ४७ सीटहरू यी ईबीसी बहुल सीटहरूबाट हासिल गरेको छ।

महागठबन्धनका सहयोगी पार्टीहरूमध्ये सबैभन्दा ठूलो कांग्रेस हो । तर १४० वर्ष पुरानो यस पार्टीले रणनीति बनाएर आफ्ना उम्मेदवारहरूको चयन गरेन। यसै कारणले मतदाताहरूबीच न त उनीहरूको कुनै पहिचान बन्यो न त उनीहरूलाई स्वीकार नै गरियो र कांग्रेस केवल एक सीटमा सिमित भयो।

कतिपय सीटहरूमा उम्मेदवारहरूलाई बदलियो, जसबाट असन्तुष्टि पनि व्यक्त भयो र बागी उम्मेदवारहरू खडा भए। साथै युवाहरू र महिलाहरूबीच पनि यस ‘ग्रान्ड ओल्ड पार्टी’ को आकर्षण नगण्य रह्यो।

४. मुस्लिम तुष्टीकरण र ‘जंगलराज’ छवि

तेजस्वी यादवको हारमा महागठबन्धनको मुसलमान समर्थक छविले पनि महत्त्वपूर्ण भूमिका खेल्यो। तर मुस्लिम बहुल सीमाञ्चलमा पनि उनलाई ठूलो हारको सामना गर्नुपर्‍यो।

तेजस्वीले आफू मुख्यमन्त्री बने भने ‘वक्फ कानुनलाई रद्दीटोकरीमा फ्याँक्ने’ घोषणा गरे । भारतमा मुस्लिम समुदायको धार्मिक, परोपकारी र धर्मार्थ सम्पत्तिको व्यवस्थापन र नियमन गर्नका लागि बनाइएको कानुन हो – वक्फ कानुन ।

वाम दल र कांग्रेसले पनि उनलाई समर्थन गरे। चुनावी विश्लेषकहरूको नजरमा यसबाट तेजस्वीका यादव समर्थकहरू टाढिए।

उनका एमएलसी (विधान परिषद सदस्य) कारी सोहेबले मञ्चबाटै भनिदिए, ‘वक्फ बिलवालाहरूको उपचार गर्नुपर्छ ।’ ‘उपचार गर्नु’ लाई बीजेपीले धम्कीको रूपमा प्रयोग गर्‍यो।

यसलाई ‘जंगलराज’ को भाषाको रूपमा प्रचारित गरियो। यसको सीधा फाइदा एनडीए गठबन्धनलाई भयो। अन्तिम चरणको मतदानको लगत्तै सबै एक्जिट पोलले पनि यो स्पष्ट गरिदिएका थिए कि नितिश कुमारको नेतृत्वमा रहेको एनडीएको बिहारमा पुनरागमन हुँदैछ। जब १४ नोभेम्बरमा नतिजा आयो तब एनडीएको २०२ सीटहरूको तुलनामा महागठबन्धन केवल ३५ सीटहरूमा सीमित भयो।

५. महिलाहरू, युवा र लालुको विचारधारात्मक द्विविधा

महिलाहरूका लागि धेरै योजनाहरू सुरु गरेका कारण नितिश कुमारलाई महिलाहरूको समर्थन गरे । बीजेपीप्रति महिला मतदाताहरूको देशव्यापी रुझान विगत केही वर्षहरूमा देखिएको छ। बिहार चुनावमा पनि महिलाहरूले ऐतिहासिक रेकर्डका साथ मतदानमा भाग लिए।

सन् २०१० को बिहार विधानसभा चुनावमा महिला मतदाताहरूले पुरुषहरूलाई पछि पारेका थिए। सन् २०२० मा महिला मतदाताहरू ६० प्रतिशतभन्दा माथि पुगे भने पुरुषहरू ५४ प्रतिशतसम्म मात्र पुग्न सके।

यस पटक बिहारमा महिलाहरूले चुनावी सहभागितामा त्यो वर्चस्व बनाएका छन् जुन १९७७ मा पुरुषहरूको हुने गर्थ्यो। सन् १९७७ मा पुरुष मतदाताहरूको संख्या ७१.२७ प्रतिशत थियो जबकि महिला मतदाता केवल ३८.३२ प्रतिशत मात्र । तर २०२५ को बिहार विधानसभा चुनावमा महिला मतदाताहरूको संख्या ७१.६ प्रतिशत रह्यो र पुरुषहरूको ६२.८ प्रतिशतको तुलनामा यो ८.८ प्रतिशत बढी हो ।

आफ्नो योजनाहरू अन्तर्गत बिहार सरकारले चुनावभन्दा ठीक अघि एक करोडभन्दा बढी महिलाहरूको खातामा रु. १० हजार जम्मा गरेको थियो। यसलाई पनि चुनावी विश्लेषकहरूले महिलाहरूको रुझानका कारणहरूको रूपमा देखे।

आम धारणा छ-नरेन्द्र मोदी र नितिश कुमारले महिलाहरूसँग जुन संवाद गरे, त्यसले एनडीएको जितमा ठूलो भूमिका खेल्यो। कसरी महिलाहरूले अत्यधिक मत दिए र यो कसको पक्षमा गयो भन्ने कुरा नतिजाहरूमा प्रस्ट भयो।

तेजस्वीको रोजगारको लोभलाग्दो वाचा युवाहरूलाई महागठबन्धनतिर तान्न सकेन। अन्ततः युवाहरूले पनि आफ्नो मताधिकारको प्रयोग एनडीएको पक्षमा गरे। चुनाव प्रचारको समयमा र यस प्रचण्ड जितपछि स्वयं प्रधानमन्त्रीले पनि महिलाहरू र युवा मतदाताहरूलाई धन्यवाद दिए।

चुनावी अभियानमा तेजस्वी यादवले आफूलाई लालु यादवको ‘सामाजिक न्याय’ को सिद्धान्तसँग त जोडे, तर लालुको शासनकालमा भएको भनिएको ‘जंगलराज’ (अराजकता र गुण्डागर्दी) को आरोपबाट भने टाढा रहन खोजे ।

उनको यो दोहोरो चरित्र (एकतिर सिद्धान्त मान्ने, अर्कोतिर नकारात्मक छविलाई अस्वीकार गर्ने) परम्परागत समर्थकहरूलाई चित्त बुझेन।

यति मात्र होइन, यसअघि लालु प्रसाद यादवको नेतृत्वमा आरजेडी पार्टीले ठूलो सफलता पाएको थियो, यस पटक उनी (लालु) चुनाव प्रचारमा प्रायः देखिएनन् र पोस्टरहरूमा पनि उनलाई एक कुनामा सानो ठाउँ मात्र दिइएको थियो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka