नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौँ । २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थ व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ।
आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको छ। २३ भदौमा भएको जेन–जी आन्दोलनमा सरकारी दमन र २४ भदौमा भएको हिंसात्मक घटनामा गरी ७६ जनाको ज्यान गएको थियो।
ती घटनाको छानबिन गर्न ५ असोजमा तीन महिनाको कार्यकालसहित आयोग गठन गरिएको थियो, जसको म्याद तीन पटक थपिएको थियो। आइतबार आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले २३ भदौको दमनका लागि तत्कालीन राजनीतिक तथा सुरक्षा नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने निष्कर्ष निकालेको छ। साथै २४ भदौको हिंसामा संलग्न व्यक्तिमाथि पनि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको आयोगका पदाधिकारीले बताएका छन्।
प्रतिवेदन बुझाउन आयोग अध्यक्ष कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीको टोली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो।
प्रतिवेदन बुझाएपछि अध्यक्ष कार्कीले आयोगले आफ्नो काम पूरा गरेको बताए। प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै आवश्यक प्रक्रिया अघि बढाइने बताइन्।
हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययनपछि पूरै विवरण सार्वजनिक गर्ने वा निष्कर्ष मात्रै सार्वजनिक गर्ने भन्ने निर्णय गरिने बताएकी छन्। यस विषयमा छलफल गर्न उनले गृहमन्त्री ओमप्रकाश अर्यालसहित केही मन्त्री र आयोगका पदाधिकारीलाई साँझ बालुवाटार बोलाएकी थिइन्।
यता जेन–जी समूहले भने आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब दिइरहेको छ।
