काठमाडौं । भारतको बिहार राज्यमा २४३ सिटका लागि सम्पन्न विधानसभा चुनावको मतदान सकिएको छ। पहिलो चरणको मतदान नोभेम्बर ६ मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ मा सम्पन्न भएको हो। मतगणना नोभेम्बर १४ मा हुनेछ।
चुनावपछि सार्वजनिक भएका एक्जिट पोलका नतिजा अनुसार सत्तारूढ नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) पुनः सत्तामा फर्किने अनुमान गरिएको छ। अधिकांश सर्वेक्षणले विपक्षी महागठबन्धन (एमजीए) लाई ठूलो झट्का लागेको देखाएका छन्। अन्तिम नतिजा आउँदा बिहारमा पुनः एनडीए सरकार बन्ने सम्भावना बलियो देखिएको छ।
यस पटकको निर्वाचनमा महागठबन्धन र एनडीएसँगै प्रशान्त किशोरको जन सुराज पार्टी, असदुद्दीन ओवैसीको एआईएमआईएम, र तेजप्रताप यादवको जनशक्ति जनता दल पनि प्रतिस्पर्धामा छन्।
दुवै चरणको मतदानपछि हालसम्म १२ वटा एक्जिट पोलका नतिजा सार्वजनिक भएका छन्। तीमध्ये अधिकांशले एनडीएलाई स्पष्ट बहुमत प्राप्त हुने देखाएका छन्।
कामाख्या एनालिटिक्सका अनुसार, एनडीएले १६७ देखि १८७ सिट र महागठबन्धनले ५४ देखि ७४ सिट पाउने सम्भावना छ। म्याट्रिक्स–आईएएनएसले एनडीएलाई १४७ देखि १६७ सिट (४८% मत हिस्सा) र महागठबन्धनलाई ७० देखि ९० सिट (३७% मत हिस्सा) मिल्ने अनुमान गरेको छ।
यस्तै, चाणक्य स्ट्राटेजिजले एनडीएलाई १३०–१३८ सिट र महागठबन्धनलाई १००–१०८ सिट, पिपुल्स पल्सले एनडीएलाई १३३–१५९ सिट र महागठबन्धनलाई ७५–१०१ सिट, भने जेभीसी पोलले एनडीएलाई १३५–१५० सिट र महागठबन्धनलाई ८८–१०३ सिट पाउने देखाएको छ।
सन् २०२० को विधानसभा चुनावमा पनि एनडीएले १२५ सिट जित्दै सरकार बनाएको थियो भने महागठबन्धनले ११० सिट जितेको थियो। त्यस चुनावमा आरजेडी (राष्ट्रीय जनता दल) ७५ सिटसहित सबैभन्दा ठूलो दल बनेको थियो।
आगामी नोभेम्बर १४ मा नतिजा सार्वजनिक भएपछि बिहारको नयाँ राजनीतिक समीकरण स्पष्ट हुनेछ।
