धरान । विश्वभर घट्दै गएको दुर्लभ वन्यजन्तु पाटेबाघको एउटा डमरु (बच्चा) धरानमा फेला परेको छ। मङ्गलबार साँझ धरान–१४ हात्तीसार क्षेत्रमा स्थानीय युवाहरूले सडक छेउमा असामान्य रूपमा हिँडिरहेको डमरु भेटेका हुन्।
धरान–१६ का १८ वर्षीय युसन राई र सिमन राई, साथै धरान–१३ का १७ वर्षीय अमन लिम्बुले उक्त जनावरलाई बाघको बच्चा भएको अनुमान गर्दै सुरक्षित रूपमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन्।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार प्रारम्भिक अध्ययनमा त्यो बच्चा पाटे बाघ, चितुवा वा निगालेको हुन सक्ने देखिएको छ। उनले वन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता अवस्थामा भेटिएका जनावरहरूलाई वन कार्यालयमार्फत संरक्षणका लागि पठाइने जानकारी दिए।
हात्तीसार क्षेत्र क्याम्पस नजिकैको वन क्षेत्रमा समय–समयमा चितुवा, स्यालजस्ता वन्यजन्तु देखिने भएकाले त्यहाँ बाघसमेत हुन सक्ने अनुमान गरिएको डिएसपी राईले बताए। उनका अनुसार यस घटनाले धरान वरपरको जङ्गलमा पाटेबाघको बथान हुनसक्ने सङ्केत दिएको छ।
पाटेबाघ विश्वभर घट्दो सङ्ख्यामा रहेका वन्यजन्तुमध्ये एक हो। यसको संरक्षणका लागि नेपाल, भारत र बङ्गलादेशलगायत मुलुकहरूले विशेष नीति तथा कार्यक्रम लागू गरेका छन्। पाटेबाघ भारत, नेपाल र बङ्गलादेशका प्राकृतिक बाघ उपप्रजातिहरूमध्ये पर्दछ र यसले घाँसेमैदानदेखि उष्ण सदाबहार र समशीतोष्ण वन, झाडी, दलदल र पतझर वनसम्मका विभिन्न वासस्थानमा बसोबास गर्ने गर्छ।
नेपाल र उत्तर भारतमा पाइने पाटेबाघहरू दक्षिण भारतका बाघहरूको तुलनामा केही ठूलो शरीरका हुने गर्छन्। संरक्षणविद्हरूका अनुसार हाल विश्वभर पाटेबाघको सङ्ख्या २,००० भन्दा कम छ। भारतको राष्ट्रिय बाघ संरक्षण विभागले गरेको पछिल्लो सर्वेक्षणअनुसार विगत १० वर्षमा बाघको सङ्ख्या ६०५ ले घटेर करिब १,४११ मा सीमित भएको छ।
नेपालमा राष्ट्रिय प्रकृति संरक्षण कोषले विसं २०७० मा सार्वजनिक गरेको विवरणअनुसार सन् २०५० मा बाघको सङ्ख्या १७६ थियो, जुन २०६५ सम्म बढेर १९८ पुगेको छ। यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँट वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा पाटेबाघ गणना गरिएको थियो।
