काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइट बिग्रिँदा सवा दुई घण्टादेखि कुनै पनि उडान हुन सकेको छैन ।
विमानस्थलको धावनमार्गमा बिजुली सर्ट हुँदा समस्या देखिएको विमानस्थलले जनाएको छ ।
बेलुका ५ बजेर २५ मिनेट जाँदादेखि सबै विमानको उडान र अवतरण रोकिएको छ । यसले गर्दा हजारौँको यात्रा अस्तव्यस्त भएको छ ।
कैयौँ जहाज आकाशमै होल्ड गरिएको छ भने एउटा जहाज दिल्ली डाइभर्ट गरिएको छ । कोरियाबाट काठमाडौं आएको कोरिएन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको जनाइएको छ ।
केही विमानहरु आकाशमै होल्ड गरिएको छ । सवा दुई घण्टादेखि समस्या समाधानको प्रयास भए पनि हुन सकेको छैन ।
सिष्टममा समस्या आएपछि अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै खालका उडान र अवतरण पूर्णरुपमा बन्द भएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
“रात्रीकालीन उडानका लागि चाहिने लाइट पूर्णरुपमा सुचारु नभएकोले अहिले उडान बन्द छ,” प्रवक्ता शेर्पाले बाह्रखरीसँग भने, “अहिले के को समस्या भन्ने पत्ता लगाउने काम भइरहेको छ ।”
यसले गर्दा आन्तरिक र बाह्य सबै खालका उडान बन्द भएका हुन् ।
“एकपल्ट बत्ती आइसकेको थियो,” उनले भने, “फेरि गयो, कसरी भयो भनेर समस्या पत्ता लगाउने काम भइरहेको छ ।” उनले अहिलेसम्म उडान र अवतरणको काम नभएको बताउँदै कतिबेर खुल्छ बताउन सक्ने अवस्था पनि नभएको बताए ।
“अहिले विमानस्थलको धावनमार्गमा रहेका पोलको एक एक निरीक्षण गरी समाधानको प्रयास भएको छ,” शेर्पाले भने, “कतिबेला खुल्छ भनेर भन्न सकिने अवस्था चाहिँ छैन ।”
उनले कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनउ डाइभर्ट गरिएको बताए ।
