विराटनगर । मोरङको जहदा गाउँपालिका–३ हातिबन्दाबाट प्रहरीले अबैध लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एम्बुलेन्समार्फत गाँजा तस्करी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.स.नि. जोगेन्द्र कुमार साहको नेतृत्वमा खटिएको टोलीले स१च ६५६ नम्बरको एम्बुलेन्स रोकेर जाँच गर्दा झोलामा लुकाइ छिपाई राखिएको ३३.६१० केजी गाँजा फेला पारेको हो ।
उक्त एम्बुलेन्समा “नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१०, सिरहा” लेखिएको थियो । प्रहरीले सो एम्बुलेन्स चालक विराटनगर–५ कोचाखल निवासी ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गर्दै आएको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ हातिबन्दा निवासी ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ । बरामद गरिएको एम्बुलेन्स, मोटरसाइकल र गाँजा सहितका वस्तु इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट सो स्थान करिब ७ किलोमिटर उत्तर–पूर्व पर्ने बताइएको छ ।

