काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा चमक आएको छ । आइतबार नेप्से ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दुमा कायम भएको छ ।
आइतबार सेयर बजारमा ३१९ कम्पनीका सेयर कारोबार भएका छन् । जसमा २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ६८ हजार ११२ कारोबारबाट ९ अर्ब २० करोड ३१ लाख रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकम असोज पहिलो सातायताकै उच्च हो । सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहका परिसूचक बाहेक अरु सबै समूहका परिसूचक सकारात्मक छन् ।
सबैभन्दा धेरै वित्त समूहका परिसूचक ५.१७ प्रतिशतले बढेको छ । जीवन बीमा समूहका परिसुचक ४.३५ प्रतिशतले बढ्दा लघुवित्त समूहका परिसूचक १.३८ प्रतिशतले सकारात्मक छन् ।
सामुदायिक लघुवित्त वित्तीय संस्था, गुराँस फाइनान्स तथा पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने खानीखोला जलविद्युत, एनआईसी एसिया फेल्क्सी क्याप फण्ड तथा प्रभु बैंकको डिवेन्चरका लगानीकर्ता रहेका छन् ।

