नोट: यो समाचार १ महिना अघिको हो
अष्ट्रेलिया जाने दिन काठमाडाैमा काेइरालाले खिचाएकाे तस्विर
विराटनगर । विराटनगर महागनरपालिकाका मेयर नागेश कोइराला यतिबेला अष्ट्रलिया भ्रमणमा छन् । उनी यहाँ नहुँदा देशभर ‘जेनजी’ आन्दोलन फैलियो । यस क्रममा देशभरका सरकार कार्यालयहरुमा तोडफोड र आगजनी भयो । यस क्रममा विराटनगरमा प्रदेश र जिल्लास्तरीय सरकारी कार्यालय पनि ध्वस्त भए ।
महानगरपालिकाको कार्यालयसहित अधिकांश सरकारी संरचनामा आगजनी र तोडफोड भएका छन्। महानगरको मुख्य भवन पूर्ण रूपमा जलेर खरानी भएको छ। यस्तै अवस्थामा महानगरका मेयर नागेश कोइराला भने अस्ट्रेलिया भ्रमणमा छन् । उनको अनुपस्थितिमा उपमेयर शिल्पा निराला कार्कीले महानगरको कमान्ड सम्हालेकी छिन् ।
आन्दाेलनकै बेला काेइरालाले आफ्नो फेसबुक पेजबाट जेनजी आन्दाेलनका सम्बन्धमा एउटा पोस्ट भने हालेका थिए ।
तर, मेयर नफर्किएको भने नागरिकस्तरमा आलोचना हुन थालेको छ । उनी कहिले फर्कने हुन भन्ने उनको निजी सचिवालयले पनि प्रस्ट गरेको छैन । तर, महानगरले दुई वटा सूचना प्रकासन गरी लुटिएका सामान फिर्ता गर्न र आफ्ना सेवा सूचारु गर्न अहिले नै कठिनाई भएको जानकारी दिएको छ ।
आन्दोलनकारीहरूले महानगरपालिकाको भवन, वडा कार्यालयहरू, कोशी प्रदेशसभा भवन, मन्त्रालयहरू तथा विभिन्न सरकारी कार्यालयहरूमा आगजनी गर्दा अर्बौंको क्षति भएको छ। कागजात, सवारीसाधन र भौतिक संरचना पूरै नष्ट भएका छन्।
मेयर कोइराला गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुन भदौको तेस्रो साता विराटनगरबाट हिंडेका थिए । विकासका लागि लगानी भित्र्याउने उद्देश्यले रहेको उनको दाबी थियो । तर, आन्दोलनबाट महानगर ध्वस्त भइसकेको छ ।
यसबीच उपमेयर शिल्पा निराला कार्कीले महानगरको कामकाज सम्हाल्दै अत्यावश्यक सेवाहरू सूचारु गर्ने प्रयास थालेकी छिन् । उनले अस्पताल सिफारिसजस्ता सेवा नरोक्न निर्देशन दिएकी छिन् । यसैगरीसबै वडाहरूलाई क्षतिको विवरण संकलन गर्न भनेकी छिन् । महानगरका १४, १५, १६, १७, १८ र ८ नम्बर वडाबाहेक अन्य सबै वडा कार्यालय ध्वस्त भएका छन्।
महानगरपालिकामा उपमेयरको कार्यकक्षबाहेक सबै कार्यकक्ष तोडफोड र आगजनीमा भएको छ । डोजर, मिनी–ट्रकसहित विपद् व्यवस्थापनका सवारी साधन पनि जलेका छन्। सेवाप्रवाह ठप्प भएको अवस्थामा नगरवासीले पुनर्निर्माणको अनिश्चित भविष्य र नगर प्रमुखको अनुपस्थितिप्रति चिन्ता र आक्रोश व्यक्त गरेका छन्।
