Premier Cables
Premier Steel

कोशी प्रदेश

धरानमा मेयर-उपमेयर भिजन कोषकाे विरोध

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | बिहान ११:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान।धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे छलफल गर्न आज पुनः बस्दैछ।

गत मंगलबार नगरप्रमुख हर्क साम्पाङले बजेट टेबुल गर्न खोज्दा नेकपा (एमाले) का वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो। एमालेले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले घाटा बजेट प्रस्तुत गरेको भन्दै आपत्ति जनाएको हो।

बिज्ञापन

एमालेको अडान अनुसार बजेटमा ‘मेयर भिजन कोष’ र ‘उपमेयर भिजन कोष’ राख्न नहुने भएकाले आज पनि बजेट पारित हुने सम्भावना कम रहेको अनुमान गरिएको छ। पार्टीले आफ्ना वडाध्यक्ष र सदस्यहरूलाई स्पष्ट निर्देशन दिएकोले उनीहरू अडानमै कायम रहने देखिएको छ।

एमाले धरान अध्यक्ष हर्कजंग एभेङले नगरप्रमुख साम्पाङले मनपरी खर्च गरेको र वडाहरूलाई तोकिएको बजेट समेत उपलब्ध नगराएको आरोप लगाए। उनले भने, “रकम छैन भन्दै वडाको बजेट काट्ने तर आफूले भने मनपरी खर्च गर्ने प्रवृत्तिले जनतामा निराशा छाएको छ।” उनले घाटा बजेट ल्याउने कार्य अस्वीकार्य भएको स्पष्ट पारे।

एभेङका अनुसार सिलिङ समितिले १ अर्ब ६० करोडको बजेट ल्याउन सकिने प्रतिवेदन दिएको भए पनि कार्यान्वयन नभई बढी घाटा भएकोमा एमाले असन्तुष्ट छ। एमालेले मेयर र उपमेयर भिजन कोष हटाएर ‘नगर विकास कोष’ राख्नुपर्ने अडान लिएको छ।

यसैबीच, एमाले संसदीय दलका नेता धरान-१५ का वडाध्यक्ष नरेश ईवरामले राजीनामा दिएको भन्ने खबर आएको भए पनि अध्यक्ष एभेङले त्यसलाई खण्डन गर्दै उनी छुट्टीमा मात्र गएको बताए।

नेपाली कांग्रेस संसदीय दलका नेता धरान-१८ का वडाध्यक्ष नरेन्द्र राई (प्रवीण)ले एमालेसँग सहमति हुनसक्ने बताएका छन्। माओवादी संसदीय दलका नेता धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले भने बजेट निर्माणमा सुरुदेखि एमाले नै सहभागी भए पनि अहिले बहुमतको आधारमा बजेट फेल गराउन खोजेको आरोप लगाए।

बजेट टुङ्गो नलाग्दा उपमहानगरपालिकाको कामकाज प्रभावित भएको छ भने कर्मचारीको तलबभत्ता रोकिएको छ। सबै पक्षले सहमति गरेर बजेट पारित गर्नु अपरिहार्य भएको नेताहरूले बताएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka