Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी दाबी : क्याप्टेनले ‘फ्युल स्वीच’ बन्द गर्दा एयर इन्डिया विमान दुर्घटना

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ६:५२ बजे

अमेरिका । गत महिना भारतको अहमदावादमा भएको एयर इन्डिया विमान दुर्घटनाको अनुसन्धानमा क्याप्टेन शंकाको घेरामा तानिएका छन्। प्रारम्भिक प्रतिवेदनले विमानको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू जानाजानी बन्द गरिएको संकेत गरेपछि अनुसन्धान क्याप्टेनको भूमिकामा केन्द्रित भएको हो।

गत जुन १२ मा लन्डनका लागि उडेको बोइङ ७८७ ड्रिमलाइनर विमान अहमदावादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। चालक दलसहित २४२ जना सवार विमानमा एक जनाबाहेक सबैको र जमिनमा रहेका सर्वसाधारणसमेत गरी २७० भन्दा बढीको ज्यान गएको थियो।

बिज्ञापन

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले जारी गरेको प्रारम्भिक प्रतिवेदनअनुसार, उडानको क्रममा जेटका दुवै इन्जिनमा इन्धन पुर्‍याउने स्विचहरू बन्द गरिएको थियो। ककपिट भ्वाइस रेकर्डरको विश्लेषणले एक पाइलटले अर्कोलाई “तपाईंले इन्धन स्विच किन बन्द गर्नुभयो?” भनेर सोधेको र जवाफमा “मैले होइन” भन्ने संवाद भएको देखाएको छ। यद्यपि, कुन पाइलटले प्रश्न सोधेको र कसले जवाफ दियो भन्ने प्रतिवेदनले खुलाएको छैन।

यसैबीच, अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले अनुसन्धानबारे जानकार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै विमानको इन्धन स्विच क्याप्टेन सुमित सभरवालले बन्द गरेको दाबी गरेको छ। पत्रिकाका अनुसार, सह-पाइलट क्लाइभ कुन्दरले क्याप्टेन सभरवाललाई उक्त प्रश्न सोधेका थिए। अमेरिकी अधिकारीहरूको तर्क छ कि उडानको त्यस चरणमा विमान उडाइरहेका सह-पाइलटको हात विमान नियन्त्रणमा व्यस्त हुने हुँदा खाली हात रहेका क्याप्टेन सभरवालले नै स्विच बन्द गरेको हुनसक्ने सम्भावना उच्च छ।

प्रतिवेदन अनुसार, स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द गरी करिब १० सेकेन्डपछि पुनः अन गरिएको थियो, तर त्यतिबेलासम्म इन्जिनले शक्ति पुनः प्राप्त गर्न सकेन र विमान दुर्घटनाग्रस्त भयो।

यो घटनामा अनुसन्धानको दृष्टिकोणलाई लिएर पनि मतभेद देखिएको छ। अमेरिकी अधिकारीहरूले यो विषयमा फौजदारी अनुसन्धान हुनुपर्ने बताएका छन् भने भारतीय अनुसन्धान ब्युरोको प्रतिवेदनले सन् २०१८ मा अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले नै बोइङका यस्ता स्विचहरूमा भूलवश चल्नसक्ने जोखिमबारे जाँच गर्न सुझाव दिएको कुरा उल्लेख गर्दै सम्भावित प्राविधिक त्रुटितर्फ संकेत गरेको छ।

घटनापछि बोइङ कम्पनी र एफएएले स्विचहरू सुरक्षित रहेको दाबी गरेका छन्। भारतको नागरिक उड्डयन मन्त्रालयले वाल स्ट्रिट जर्नलको समाचारलाई ‘एकतर्फी’ भनेको छ, भने इन्डियन कमर्सियल पाइलट्स एसोसिएसनले अनुमानको भरमा पाइलटहरूलाई बदनाम गर्न नहुने भन्दै उनीहरूको बचाव गरेको छ।

क्याप्टेन सभरवालसँग १० हजार घण्टाभन्दा बढी र सह-पाइलट कुन्दरसँग ३४ सय घण्टाभन्दा बढी ठूला विमान उडाएको अनुभव थियो। यो दुर्घटना मानवीय त्रुटि, जानाजानी गरिएको कार्य वा प्राविधिक गडबडी के हो भन्ने विषयमा अनुसन्धान जारी छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka