Premier Cables
Premier Steel

विराटनगर शिक्षा

मनमोहन प्राविधिक विश्व विद्यालयमा बेथिति : गाडी चालकलाई लेखाकाे जिम्मेवारी !

पङ्गु सेवा आयोग, ऐनको छिद्रको दुरुपयोग

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार ०९, २०८२  | अपराह्न १:०४ बजे

विराटनगर । कोसी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादन गर्न धेरै महत्व दिएर संचालनमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालयमा कर्मचारी नियुक्ति र जिम्मेवारीमा बेथिति देखिएको छ । विश्वविद्यालयले कर्मचारीलाई दोहोरा जिम्मेवारी दिँदा प्रज्ञिक क्षेत्रको कार्यशैली माथि नै प्रश्न उठेको छ ।

विश्वविद्यालयमा कार्यरत महेश चौधरी नियुक्तिका हिसाबले सवारी चालक हुन् । तर, उनले विश्वविद्यालयको सवारी भने हाँक्दैनन् । कार्यालयमै बस्छन् र त्यहीँको काम गर्छन । उनलाई विश्वविद्यालय कार्यालयले एउटा कोठा उपलब्ध गराएको छ । जिम्मेवारी हो लेखा फाँट हेर्ने । चौधरी पाँचौ तहको कर्मचारी हुन् ।

बिज्ञापन

विश्व विद्यालयको ऐनमा कार्यकारी परिषद्ले आवश्यकता र औचित्यका आधारमा शिक्षक तथा कर्मचारीलाई सेवा र समूह परिवर्तन गर्न सक्ने व्यवस्था छ । यही नियमलाई टेकेर उप–कुलपति डा. सुवासश्री पोखरेलले चालक चौधरीलाई लेखा फाँटको जिम्मेवारी दिएका हुन् ।

विश्व विद्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको तिनमा कतिपय करारका पनि छन् । सुनसरीको दुहबीका युवराज चौधरी आईटी विभागको को–अर्डिनेटर र परीक्षा नियन्त्रण कार्यालयको परीक्षा विज्ञको जिम्मेवारीमा छन् । सिटिइभिटीको कार्यक्रम संचालन गर्ने कर्मचारीलाई समेत विश्व विद्यालयको जिम्मेवारी उपलब्ध छ । उपकुलपति पोखरेल पनि दुहबी निवासी हुन् ।

कर्मचारी सुजन भुर्तेल दुईवटा फाँट हेर्छन । लेखा र प्रशासन । उनकी श्रीमती साक्षी शर्मा न्यौपाने सिनियर ल्याब टेक्निसियन छिन् । विश्वविद्यालयमा हाल करारका २० र स्थायी ८० जना कर्मचारी छन् । पदाधिकारीको संख्या ५ छ ।
विश्व विद्यालय संरक्षण समितिका सदस्य सत्यनारायण चौधरीकी श्रीमती जानकी कुमारी लेखी, भतिजाहरु रुपेश चौधरी, मनेष चौधरी, महेश चौधरी र रिकेश चौधरी विश्व विद्यालयका विभिन्न पदमा कार्यरत छन् । केही समय अघिसम्म चौधरीसमेत त्यहीँका कर्मचारी थिए ।

पहिले पोलिटेक्निकका प्राचार्य रहेका पोखरेललाई कोसी सरकारले विश्व विद्यालयको उपकुलपतिमा नियुक्त गरेको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले २०८१ मा ४ वर्षे कार्यकाल पुनः थपिदिएका थिए ।
तत्कालीन प्रदेश नं १ सरकारले २०७६ सालमा मनमोहन विश्वविद्यालय ऐन जारी गर्यो । पहिलेको पोलिटेक्निककै भौतिक संरचनामा रहने गरी अहिलेको विश्वविद्यालय संचालनमा आएको हो । बुढीगंगा गाउँपालिका वडा नं ४ मा वि.सं २०६५ सालदेखि मनमोहन स्मृति पोलिटेक्निक सञ्चालनमा थियो ।

के भन्छन् रजिष्ट्रार ?
विश्व विद्यालयका रजिष्ट्रार दिलनाथ फुयाँल केही कर्मचारीहरुलाई दोहोरो जिम्मेवारी दिएको स्विकार गर्छन । “विश्व विद्यालयले निश्चित तलब दिएको छ । ‘फुलफेज’मा अर्को कर्मचारी राख्दा थप खर्च दिनुपर्छ । केही जिम्मेवारी दिन सकिन्छ । अतिरिक्त सेवा सुविधा नदिन पनि सकिन्छ,” उनले बाह्रखरीसँग भने,“भोलि कुनै पनि हिसाबले टेस्ट हुँदा आर्थिक हानी पुर्याएको देखिदैन । केहीलाई जिम्मेवारी दिइएको छ । एकजना कर्मचारी युवराज चौधरीकै कुरा गरौं । उनी दिउँसो साढे १२ बजेसम्म यहाँको जागिरे हुन् । तर, उनमा परीक्षासँग सम्बन्धित काम गर्ने क्षमता छ । अब त्यो जिम्मेवारी दिने कि नदिने ?”
रजिष्ट्रार फुयाँलले कर्मचारी करार गर्ने अधिकार उपकुलपति (भिसी) को भएको बताए । विज्ञलाई बढीमा दुई वर्ष करार गर्न सकिने बताउँदै भने,“सेवा आयोगमार्फत सूचना गर्दा पनि कर्मचारी नभेटिने समस्या छ । विज्ञ कर्मचारी प्राप्त गर्न त हामीलाई झन् हम्मेहम्मे नै छ ।”

कामविहीन सेवा आयोग ?
विश्वविद्यालयको सेवा आयोग त छ, तर काम छैन । आयोगले योग्यता प्रणालीको सिद्घान्त बमोजिम स्वच्छ, निष्पक्ष र विश्वसनीय प्रतिस्पर्धाको माध्यमबाट विश्वविद्यालयको शिक्षण तथा प्रशासनिक सेवाका जनशक्ति छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नु पर्दछ ।
मुलुकको सर्वाङ्गीण विकासमा आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधाराणाअनुरूप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकासक्रमसँग आबद्घ गर्न सक्ने मानव संशाधन विकास गर्ने विश्व विद्यालयले उद्देश्य लिएको छ ।
विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सान्दर्भिक अनुसन्धानलाई व्यापक एवम् व्यावहारिक र समयसापेक्ष बनाउनमा समेत विश्वविद्यालय सक्रिय रहेको बताइन्छ । तर, यो उद्देश्य प्राप्त गर्न गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति छनोटमा भने विश्व विद्यालय चुकेको पाइएको छ ।

ऐनमा भएको छिद्रको दुरुपयोग
मनमोहन प्राविधिक विश्व विद्यालय ऐन २०७६ को परिच्छेद १३ मा गरिएको विशेष व्यवस्थाको दुरुपयोग गर्दै एउटा जिम्मेवारीको कर्मचारीलाई अर्को दिने गरेको पाइएको छ । अन्य विषयमा स्नातक गरेका कर्मचारीको पदोन्नतिसहित समूह र उपसमूह समेत परिवर्तन गर्ने व्यवस्था भएअनुरुप कर्मचारीको आफूखुसी फाँट परिवर्तन गर्ने गरिएको छ ।
विश्व विद्यालयको सेवा आयोगले आवश्यक परेको जनशक्ति छनोट तथा यसको व्यवस्थापन गर्ने भनिए पनि २० जना कर्मचारीलाई करारमा नियुक्त गरेको छ ।
हाल नयाँ शैक्षिक कार्यक्रम अन्तर्गत कानुन एलएल एम, बीबीए एलएलबी कक्षा संचालन गरिरहेको छ । अस्पतालतर्फको बिएम, बिएमएलटी थप्ने तयारी गरिरहेको जनाइएको छ ।


महालेखाको पनि प्रश्न ?

महालेखा परीक्षकको कार्यालयले समेत विश्व विद्यालयको काम कारबाहीको विषयमा प्रश्न उठाएको छ । मलेपको प्रतिवेदनमा प्राज्ञिक परिषद्कले गरेको स्विकृतिअनुरुप पाठ्यक्रम निर्माण गरी अध्यापन कार्यलाई व्यवस्थित गर्न भनिएको छ ।
विश्व विद्यालयले हालसम्म ४९९ विषयको पाठ्यक्रम तयार गर्न रु. १ करोड ३३ लाख ७१ हजार खर्च गरेको प्रतिवेदनमा छ । विश्व विद्यालय सभाले गरेका निणयहरु समेत कार्यान्वयन नभएको विषयमा महालेखाले प्रश्न उठाएको छ ।
शैक्षिक प्रशासन नियमावली २०७८ को नियम ३ ले प्राज्ञिक परिषद्ले प्रत्येक वर्ष विश्व विद्यालयको शैक्षिक परीक्षण गरी सोको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने व्यवस्था भएको तर परीक्षण प्रतिवेदन कार्यकारी परिषदमा पेश नभएको महालेखाको टिप्प्णी छ ।


मार्सल लगाएर पारित कानुन

मनमोहन प्राविधिक विश्व विद्यालय सम्बन्धी विधेयक प्रदेश सभामा दर्ता भएदेखि नै त्यसबेलाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा विरोध गर्दै आएको थियो । संचालन प्रक्रियाका विषयमा सरकार समक्ष कांग्रेसको मूल प्रश्न थियो । पारित गराउने बैठकमा कांग्रेसका सांसदले वेल घेराउ गरे । तर सरकारले मार्सल लगाएर विधेयक पारित गरायो ।

तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई मर्यादापालकले बोकेर रोस्र्टममा उकालेका थिए । कांग्रेसको विरोध र सांसदको होहल्लाबीच विधेयक पारित भएको थियो । कांग्रेस सांसद बिन्दिया कार्कीले आफूमाथि मर्यादापालकले दुव्र्यवहार गरेको भन्दै तत्कालनी सभामुखको ध्यानाकर्षण गराएकी थिइन । विरोधमा महिला प्रदेश सभाका महिला सदस्यलाई रोक्न पुरुष मर्यादापालक परिचालन गरिएको थियो ।
कोसी सरकारले यो विश्व विद्यालयलाई हरेक वर्ष करोडौ बजेट विनियोजन गर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि पनि रु. १४ करोड रुपैयाँ विनियोजित छ । विश्व विद्यालयले संघबाट समेत विभिन्न अनुदान प्राप्त गर्छ । १२खरीबाट

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka