






चिरा परेकाे सडक
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका अन्तर्गत पर्ने झपड़तल–कुढेली सडक कालोपत्रे भएको केही समय नबित्दै चिरा परेर खाल्डाखुल्डी पर्न थालेको छ । कामको गुणस्तरलाई लिएर स्थानीय वासी आक्रोसित भएका छन्। प्रदेश सरकारको योजनाअन्तर्गत ‘राज एण्ड निकिता कन्स्ट्रक्सन’ले निर्माण गरेको उक्त सडकको गुणस्तरप्रति स्थानीयले गम्भीर प्रश्न पनि उठाएका छन्।
स्थानीय बासिन्दाले निर्माण कार्यमा लापरवाही र गुणस्तरहीनता भएको आरोप लगाएका छन्। “निर्माणको क्रममा हामीले यसरी गर्दा सडक टिकाउ हुँदैन भनेर सचेत गराउँदा पनि कुनै सुनवाइ भएन,” झपड़तलका बासिन्दा प्रभु साहले भने। “हामीले भनेको कुरा अहिले आएर सत्य सावित भएको छ। सडक बनेको केही सातामै बिग्रनु लज्जास्पद छ।”
सडकको गुणस्तर कमजोर हुनुमा सरकारी निकायको अनुगमनको अभाव प्रमुख कारण भएको स्थानीयको भनाइ छ। निर्माणको बेला आवश्यक मापदण्ड पालना नगरिएको र अनुगमनमा लापरवाही गरिएको उनीहरूको गुनासो छ।
लामो समयसम्म निर्माण नहुँदा समस्यामा परेका स्थानीयले सडक बनेपछि सहज यात्रा गर्न पाउने अपेक्षा गरेका थिए। तर, कालोपत्रे भएपछि पनि बिग्रिएको सडकले उनीहरूलाई थप चिन्तित बनाएको छ। स्थानीयले सम्बन्धित निकायलाई गुणस्तरहीन निर्माणको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्ता समस्याको पुनरावृत्ति रोक्न अनुगमनलाई प्रभावकारी बनाउन जोड दिएका छन्।
स्थानीय बासिन्दाको आवाजलाई बेवास्ता नगरि समस्या समाधान गर्न तत्काल कदम चाल्नुपर्ने देखिन्छ। सडक निर्माणजस्तो आधारभूत पूर्वाधारको गुणस्तरमा गम्भीर ध्यान दिनु आजको आवश्यकता हो।