काठमाडौं । सरकारले मुलुकको ऊर्जा सुरक्षालाई मजबुत बनाउँदै विद्युत् उत्पादन र खपत बढाउने उद्देश्यले नयाँ ऊर्जा मिश्रण नीति (इनर्जी मिक्स पोलिसी) तयार गर्ने भएको छ।
नयाँ नीतिमार्फत आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न विभिन्न ऊर्जा स्रोतको सन्तुलित विकासमा जोड दिइनेछ। यसका लागि जलविद्युत्सँगै सौर्य तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको उपयोग विस्तार गर्ने सरकारको तयारी छ।
सरकारले विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको विकासलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। उत्पादन भएको विद्युत् सहज रूपमा उद्योग, घरायसी उपभोक्ता तथा अन्य क्षेत्रमा पुर्याउन प्रसारण लाइन र सबस्टेसनको क्षमता विस्तार आवश्यक रहेको सरकारको ठहर छ।
त्यस्तै, वर्षायाममा बढी हुने र हिउँदमा कम हुने विद्युत् उत्पादनको अवस्थालाई व्यवस्थापन गर्न ऊर्जा भण्डारण प्रणालीको विकासमा समेत जोड दिइनेछ। यसले विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारले विद्युत्को आन्तरिक खपत बढाउनुका साथै भारत र बंगलादेशलगायत छिमेकी मुलुकमा विद्युत् निर्यातको सम्भावनालाई पनि प्राथमिकतामा राखेको छ।
३० हजार मेगावाट उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानी, ठूला जलविद्युत् आयोजना र नवीकरणीय ऊर्जा परियोजनाको विकासलाई प्रोत्साहन गर्ने सरकारको योजना छ।
नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्दै उत्पादन, खपत र निर्यातबीच सन्तुलन कायम गर्ने उद्देश्यले नयाँ ऊर्जा मिश्रण नीति ल्याउन लागिएको हो।
