काठमाडौं । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार १९ जनाकै मृत्यु भएको छ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानमा रहेको एएन–१२ विमान केमेरोभो क्षेत्रको सुनसान स्थानमा दुर्घटनाग्रस्त भएको हो।
स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँनजिकै खसेको जानकारी दिएका छन्। दुर्घटनापछि घटनास्थलमा पुगेका आपत्कालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिएका थिए।
प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबी दुर्घटनाको सम्भावित कारण हुन सक्ने आशंका गरिएको छ। घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।
गभर्नर सेरेड्युकका अनुसार घटनास्थलमा हेलिकप्टर र आवश्यक स्वास्थ्य सुविधाहरू तयारी अवस्थामा राखिएको थियो। अब दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धानकर्तालाई सहयोग गर्ने काम भइरहेको उनले बताएका छन्।
दुर्घटनाग्रस्त विमानमा कुनै सामान लोड गरिएको थियो वा थिएन भन्नेबारे भने स्पष्ट भइसकेको छैन।
एएन–१२ विमान रुसी सेनाले हतियार तथा सैनिक सामग्री ढुवानी गर्न प्रयोग गर्दै आएको छ। यसका साथै खोज तथा उद्धार अभियानमा समेत यस्तो विमान प्रयोग हुने गरेको छ।
