विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा पहिचान पक्षधर शक्तिसँग सहकार्यको पहल अघि बढाएको छ । प्रदेशमा संगठन विस्तारसँगै स्थानीय तह निर्वाचनको तयारीमा जुटेको रास्वपाले पहिचानवादी मोर्चाहरूसँग एकता र सहकार्यका लागि संवाद तीव्र बनाएको हो ।
रास्वपा कोशी प्रदेश सभापति चन्द्र राईका अनुसार प्रदेश अधिवेशनपछि विभिन्न पहिचानवादी घटकसँग निरन्तर छलफल भइरहेको छ । पहिचान पक्षधर शक्तिहरू रास्वपामा ध्रुवीकृत हुँदै गएको दाबी गर्दै उनले एकताका लागि भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको बताए ।
‘पार्टीको प्रदेश अधिवेशनपछि कोशीका विभिन्न पहिचानवादी घटकसँग निरन्तर छलफल भइरहेको छ । पहिचान पक्षधरहरू रास्वपामा ध्रुवीकृत भइरहेका छन्,’ राईले भने ।
कोशी प्रदेशको नामकरणको विषयमा भने रास्वपाले जनमतलाई सम्मान गर्ने उनको भनाइ छ । नाम परिवर्तनका लागि अर्को जनमतमा जानुपर्ने अवस्था आए जनताले दिने म्यान्डेटअनुसार पार्टी अघि बढ्ने उनले बताए ।
‘नामको विषयमा अर्को जनमतमा जानुपर्ने अवस्था आउन सक्छ । त्यतिबेला जनताले जे म्यान्डेट दिन्छन्, हामी त्यहीअनुसार अगाडि बढ्छौँ,’ राईले भने ।
श्रम संस्कृति पार्टीसँग तुलना गर्न नमिल्ने दाबी
प्रतिनिधिसभा निर्वाचनपछि उदाएको श्रम संस्कृति पार्टीले कोशीमा संगठन विस्तार अभियान तीव्र बनाइरहेका बेला रास्वपाले पनि पहाडी जिल्लामा आफ्नो संगठन मजबुत बनाउने अभियान अघि बढाएको छ ।
रास्वपा प्रदेश सभापति राईले श्रम संस्कृति पार्टीसँग रास्वपाको तुलना गर्न नमिल्ने बताए । रास्वपा विधानमै पहिचानको विषय स्पष्ट रहेको उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीको विधान र नेतृत्वको गतिविधि हेर्न आग्रह गरे ।
उनको दाबीमा श्रम संस्कृति पार्टी विधि र विधानभन्दा अध्यक्षको आदेशमा चलिरहेको छ । रास्वपा भने पहिचानवादी मुद्दालाई संस्थागत रूपमा अघि बढाउने पार्टी भएको उनको भनाइ छ ।
१३७ पालिकामा उम्मेदवार छनोटको तयारी
रास्वपाले कोशी प्रदेशका १४ वटै जिल्लामा संगठन विस्तारलाई प्राथमिकतामा राखेको छ । राईका अनुसार प्रदेशका सबै जिल्लाका साथै १३७ वटै पालिकामा पार्टी अधिवेशन सम्पन्न भइसकेको छ । केही वडामा भने अधिवेशन हुन बाँकी छ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पुराना दलहरूको टिकट वितरण प्रणालीभन्दा फरक विधि र प्रक्रियाका आधारमा उम्मेदवार छनोट गर्न नयाँ अभ्यास थालिएको राईले बताए ।
उनका अनुसार कोशीका १३७ वटै पालिकाको नेतृत्व तहमा उम्मेदवारीका लागि आवेदन आइसकेको छ । वडाध्यक्षमा भने तुलनात्मक रूपमा कम आवेदन परेको छ । पहाडी क्षेत्रका केही पालिकाका वडामा उम्मेदवारी नै नपरेको उनले स्वीकार गरे ।
फागुन २१ को निर्वाचनमा तराईमा राम्रो परिणाम आए पनि पहाडी क्षेत्रमा अपेक्षाकृत कम जनमत आएको रास्वपाले स्वीकार गरेको छ । अहिले पहाडी क्षेत्रमा पनि पार्टीको जनमत र संगठन विस्तार भएको राईको दाबी छ ।
सरकारको कार्यशैलीका कारण शहरी मतदाता असन्तुष्ट देखिएको विषयमा भने उनले असन्तुष्टिभन्दा फरक धारका व्यक्तिहरूको आवाज बढी सुनिएको बताए । सरकारले शहरी नागरिक र व्यवसायीलाई विचलित बनाउने निर्णय नगरेको उनको दाबी छ ।
आगामी स्थानीय तह निर्वाचनमा कोशीका १३७ मध्ये बहुमत पालिकामा जित हासिल गर्ने रास्वपाको लक्ष्य रहेको राईले बताए । उनका अनुसार गरिबी, बेथिति र भ्रष्टाचार नै पार्टीका मुख्य प्रतिस्पर्धी हुन् ।
पहिचानवादी शक्तिसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै रास्वपाले कोशीमा आफ्नो राजनीतिक आधार थप विस्तार गर्ने रणनीति अघि बढाएको छ ।
