फायल फोटो
विराटनगर । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
आज राति कोशीका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनीको हिमाली क्षेत्रमा पनि बदली हुने महाशाखाले जनाएको छ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बिहानपख तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्न सक्नेछ। यसअघि नै तराईका केही स्थानमा तुवाँलो लागेको छ।
