Premier Cables
Premier Steel

विराटनगर

पिज फायर संचालक मृत्यु प्रकरण: अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा जाँदै, आत्महत्याको कारण अझै रहस्यमै

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २८, २०८३  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका चर्चित रेस्टुरेन्ट व्यवसायी ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरी आगामी मंगलबार (मंसिर १ गते) सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेकी २७ वर्षीया महिला कर्मचारीविरुद्ध तीन पटक म्याद थप गरी अनुसन्धान सके पनि खत्रीले आत्महत्या गर्नुको ठोस कारण र प्रमाणको निष्कर्ष भने प्रहरीले सार्वजनिक गरेको छैन।

विज्ञापन

गत कात्तिक ७ गते दिउँसो करिब १ बजे विराटनगर–३ स्थित निवासबाट स्कुटर लिएर निस्किएका खत्री सम्पर्कविहीन भएका थिए। भोलिपल्ट कात्तिक ८ गते अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। सोही दिन आफन्तले गोल्छा चोकस्थित ‘पिजफायर रेस्टुरेन्ट’ शाखामा कार्यरत क्यासियरविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

व्यक्तित्व, व्यवसाय र पारिवारिक पृष्ठभूमि
काठमाडौँ स्थायी घर भएका खत्री दुबई र जर्मनीमा काम गरेका अनुभवी बेकरी सेफ थिए। स्वदेशमै केही गर्ने उद्देश्यले विराटनगर आएका उनले पिपलचोकमा ‘पिजफायर’ रेस्टुरेन्ट सुरु गरी पाँच वर्षभित्रै गोल्छा चोक, विराटचोक र काठमाडौँसम्म शाखा विस्तार गरेका थिए। हाल विराटनगरमा मात्र उनको दुई करोड रुपैयाँभन्दा बढीको लगानी छ।

विराटचोक र काठमाडौँका शाखा बन्द भए पनि विराटनगरमा राम्रो चलेको थियो । करिब ६० जनालाई रोजगारी दिएका उनी कर्मचारीप्रति निकै उदार, हँसमुख र मिलनसार स्वभावका रहेको बताइन्छ। परिवारमा कुनै तनाव रहेको कहिल्यै कसैसँग बताएका थिएनन्। उनकी श्रीमती दसैँको बिदामा भारतको तीर्थयात्रामा गएका बेला यो दुःखद घटना भएको थियो। खत्रीको काजकिरिया विराटनगरस्थित पिपलचोकमै गरिएको छ।

आरोपितको बयान र परिवारको माग
आरोपित युवतीले मालिक खत्रीसँग आफ्नो सुमधुर व्यावसायिक सम्बन्ध मात्र रहेको र कुनै आर्थिक हिनामिना, दबाब वा ब्ल्याकमेलिङ नगरेको बयान प्रहरीलाई दिएकी छन्। आगामी मंसिरमा विवाहको तयारीमा रहेकी ती युवतीले निराधार आरोपका कारण आफ्नो भविष्य अन्योलमा परेको बताएकी छन्। विगतमा ती युवतीले निजी क्यूआरमा पैसा लिएको सामान्य गुनासो आए पनि खत्रीले त्यसलाई गम्भीर रूपमा नलिएको र रेस्टुरेन्टको सम्पूर्ण बिलिङ प्रणाली कम्प्युटरकृत रहेको कर्मचारीहरू बताउँछन्।

अर्कोतर्फ, खत्रीकी श्रीमती तथा परिवारजनले पनि सफल र तनावमुक्त देखिने व्यक्तिले अचानक आत्महत्या गर्नुको वास्तविक कारण गहिरो अनुसन्धानबाट खुल्नुपर्ने माग गरेका छन्।

कानुनी प्रक्रिया र प्रमाणको चुनौती
मोरङ प्रहरीले मंगलबार अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ, जहाँ थुनछेक बहसपछि आरोपितलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भएमा अधिकतम पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यद्यपि, सर्वोच्च अदालतका नजिरअनुसार सामान्य फोन सम्पर्क, म्यासेज वा सम्बन्ध बिग्रिनुलाई मात्र दुरुत्साहन मानिँदैन; यसका लागि प्रत्यक्ष मानसिक दबाब वा उक्साहटको ठोस प्रमाण आवश्यक पर्छ।

फरेन्सिक रिपोर्ट र अन्य प्राविधिक पक्ष समेटिए पनि खत्रीको आत्महत्याको वास्तविक गुत्थी अझै सुल्झिन बाँकी रहेको र अनुसन्धान फाइल सदैव खुला रहने मोरङ प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka