काठमाडौं। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आइतबार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने सम्भावना छ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
