काठमाडौं । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटाको विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन्। यसले भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना, अन्वेषण तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका अनुसार अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानको विश्लेषण गर्दै माटाका दुई हजार प्रकार पहिचान गरेका हुन्। कक्षीय अवलोकन र वैज्ञानिक मोडेलको प्रयोगबाट तयार गरिएको नक्साले मंगल ग्रहको कुन क्षेत्रमा कस्तो प्रकारको माटो पाइन्छ भन्ने जानकारी दिन्छ।
अनुसन्धानको नेतृत्व गरेका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको नक्साङ्कन गरिसकेका थिए। नयाँ प्रणालीले भने माटोका विभिन्न विशेषतालाई एउटै संरचनामा समेट्दै तिनको भौगोलिक वितरण र आपसी सम्बन्ध बुझ्न सहयोग गर्नेछ।
अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच अर्थात् अम्लीय वा क्षारीय अवस्था र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन्। यस प्रणालीमा माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ।
अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटाका विशेषताहरूको पनि मूल्याङ्कन गरेका थिए। त्यस क्रममा ‘नोहिबारेथ’ नाम दिइएको माटाको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा उक्त माटाले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ।
यद्यपि, यसको अर्थ मंगल ग्रहको माटामा सिधै बाली उब्जाउन सकिन्छ भन्ने होइन। भविष्यमा त्यहाँ मानव बस्ती स्थापना गरी खाद्य उत्पादन गर्न पानी, आवश्यक पोषक तत्त्व, नियन्त्रित वातावरण र सम्भावित हानिकारक पदार्थको उचित व्यवस्थापन गर्नुपर्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’मा प्रकाशित अध्ययनले मंगल ग्रहको माटाको वर्गीकरणका लागि ‘एरेथ्स’ शब्द प्रस्ताव गरेको छ। यो शब्द मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’बाट लिइएको हो।
अनुसन्धान टोलीका अनुसार पृथ्वीमा मंगल ग्रहको माटासँग मिल्दोजुल्दो मिश्रण तयार गरी नियन्त्रित अवस्थामा परीक्षण गर्न सकिनेछ। साथै, भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त तथ्याङ्क र त्यहाँबाट ल्याइने माटाका नमुनाले तयार पारिएका वैज्ञानिक मोडेलको विश्वसनीयता जाँच्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
