ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथग्रहण गर्ने भएका छन् । शपथ लिएलगत्तै उनले पार्टी सभापतिको पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका अनुसार दसैँको फूलपातीका अवसरमा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ ।
१५औँ महाधिवेशनअन्तर्गतको मतगणना सम्पन्न भई सभापतिमा थापा निर्वाचित भएपछि उनको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो ।
शपथग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समारोहमा उपस्थितिका लागि आग्रह गरिएको जानकारी दिए ।
कांग्रेसले केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दसैँपछि गर्ने जनाएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
