Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

बाह्य लोकवासी ‘एलिअन’हरुसँग हाम्रो भेट होला त ?

Calendar सोमबार, भाद्र ०९, २०८२  | अपराह्न १:३५ बजे

राति आकाशतिर फर्किएर चम्किला ताराहरूलाई हेर्दै तपाईँ आफैँलाई सोध्नुहोस् – जानेर जानिनसक्नु यो विशाल ब्रह्माण्डमा हामी मात्रै छौँ त?

सम्भवतः यो ब्रह्माण्डमा अरू जीवहरू पनि हुन सक्छन्। अपरिमित ब्रह्माण्डमा भएका खर्बौँ खगोलपिण्डमध्ये पृथ्वी एउटा हो। यहाँ हामी मात्र छौँ होला र? सुव्यवस्थित वातावरण भएको पृथ्वीभन्दा बाहिर पनि जीवको अस्तित्वको सम्भावनाबारे हामीलाई के थाहा छ?

बिज्ञापन

‘एलिअन’ अर्थात् पृथ्वीबाहिर अन्य लोकमा रहेका हुन सक्ने अनुमान गरिएका जीवहरूको अस्तित्व पुष्टि गर्नका लागि स्पष्ट प्रमाण हामीसँग नभए पनि ती वास्तवमै अस्तित्वमा रहेको हुन सक्ने निष्कर्षमा धेरै विज्ञहरू पुगेका छन्। हाम्रो आकाशगङ्गा अनुमानित २०० अर्ब तारामण्डलमध्ये एउटा हो। यसमा झन्डै ३०० अर्बवटा तारा छन्। सूर्य पनि एउटा तारा हो। पृथ्वी ग्रहमा जीवनको उत्पत्ति हुनुको मुख्य श्रेय सूर्यलाई दिइन्छ।

वैज्ञानिकहरू ताराहरूलाई परिक्रमा गर्ने ग्रहहरू निरन्तर रूपमा पत्ता लगाउँदै छन्। त्यस्ता ग्रहलाई बाह्यग्रह भनिन्छ। “हामी त्यहाँ जीवको अस्तित्व छ भन्ने कुरामा निकै विश्वस्त छौँ,” अन्तरिक्ष वैज्ञानिक डा म्यागी एडरिन-पोकक भन्छिन्। “यो नितान्त गणनाको खेल हो। यो सम्भावनाको संसार हो।”

आधुनिक प्रविधिको सहयोगमा हामी ती बाह्यग्रहबारे धेरै कुरा थाहा पाउन सक्छौँ। आआफ्ना तारालाई परिक्रमा गर्ने ती खगोलपिण्डको रासायनिक संरचना पत्ता लगाउन अहिले वैज्ञानिकहरू सक्षम छन्। ताराबाट उत्सर्जित प्रकाश ती ग्रहमा प्रवेश गर्दा त्यसको रासायनिक संरचना जाँच्नका लागि निकै शक्तिशाली दूरबिनहरू प्रयोग गरिन्छ। त्यो विधिलाई स्पेक्ट्रोस्कपी भनिन्छ।

अन्यत्र कतै पृथ्वीको जस्तै रासायनिक संरचना फेला पर्नुको अर्थ त्यहाँ पृथ्वीको जस्तै वातावरण पनि हुनु हो। सम्भवतः लाखौँ प्रकाशवर्ष टाढा जैविक अस्तित्व सहज हुने परिस्थिति हुन सक्छ।

अहिलेसम्मका सङ्केतहरू उत्साहप्रद छन्।

“हामीले बस्नयोग्य सम्भावना भएका सयौँ ग्रह चिनेका छौँ,” यूकेस्थित यूनिभर्सिटी अफ म्यान्चेस्टरमा एस्ट्रोफिजिक्सका प्राध्यापक टिम ओ’ब्रायन भन्छन्।
“आगामी दशकतिर हामी पक्का पनि जीवको अस्तित्व भएको प्रमाण भएको कुनै ग्रह फेला पार्न सक्छौँ।”

सबैभन्दा विश्वासिलो प्रमाण चाहिँ पृथ्वीमै देखिन्छ। जीवहरूका लागि निकै प्रतिकूल मानिएका, उदाहरणका लागि, समुद्रभित्र निकै गहिराइमा प्रकाश नै नपुग्ने र तातो नै नहुने ठाउँहरूमा पनि प्राणीहरू फेला परेका छन्।

ताराबाट निश्चित दूरीमा अवस्थित ग्रहमा मात्र जीवहरूको अस्तित्व हुन सक्ने मान्यता पहिला थियो। पृथ्वीमा निकै विषम स्थानमा पनि जीवहरू फेला परेपछि हाम्रो आँखा खुलेको छ। अहिले ग्रहहरूमा मात्र नभई चन्द्रमा अर्थात् उपग्रहहरू पनि जीवहरूका लागि अनुकूल हुन सक्ने ठानिन्छ।

त्यसको अर्थ ती जीवहरू मान्छेले कल्पना गरेर कथा वा चलचित्रमा देखाए जस्ता हरिया हुन्छन् भन्ने होइन, ती स्थानमा जीवन हुन सक्छ भन्ने मात्र हो।

विज्ञहरू बाह्य संसारमा जीवहरू हुन सक्ने सम्भावना निकै उच्च भए पनि ती कति बुद्धिमान् छन् भन्ने निर्क्योल गर्न अहिले कठिन मात्र नभई असम्भवप्रायः ठान्छन्।

“पृथ्वीमा जीवहरूको सृष्टि भएपछि अधिकांश समय निकै साधारण जीवहरू थिए। वास्तवमा अर्बौँ वर्षसम्म ब्याक्टेरिया (एककोषीय सूक्ष्मजीवहरू) मात्र थिए,” प्राध्यापक ओ’ब्रायन भन्छन्।

अप्रत्याशित घटनाहरूको शृङ्खलाले पृथ्वीमा बहुकोषीय जीवहरू उत्पन्न भए। बाह्यलोकीय जीवसँग सम्पर्क स्थापित गर्नका लागि चाहिँ ती शारीरिक र प्राविधिक रूपमा निकै उन्नत स्वरूपमा भएको हुनुपर्छ।


बाह्य लोकवासीसँग हाम्रो भेट होला त?

यो ब्रह्माण्डमा हामी मात्र छैनौँ भने के बाह्य लोकमा बस्ने जीवहरूसँग हाम्रो भेट पृथ्वीमा हुन सम्भव छ? हामीलाई खुलखुदी लाग्न सक्छ। तर यो निकै जटिल प्रश्न हो।

कुनै जीव एउटा तारामण्डलबाट अर्को तारामण्डलसम्म पुग्ने स्थिति आएन भनेर पत्याउन निकै कठिन छ। तर अहिलेसम्म त्यसो किन भएन होला त?

“हाम्रो सबैभन्दा ठूलो समस्या के हो भने हामीसँग जीवनको एउटा मात्र उदाहरण छ, अनि त्यो पृथ्वीमा भएको जीवन हो,” डा एडरिन-पोकक भन्छिन्।

तर ब्रह्माण्डमा अन्यत्र हुबहु त्यस्तै हुन्छ भन्ने छैन। उदाहरण दिँदै पोकक भन्छिन्, “यदि तपाईँ निकै सक्रिय तारानजिकै बस्नुहुन्छ भने तपाईँ सम्भवतः जमिनमुनि हुन सक्नुहुन्छ…। अन्यत्र बुद्धिमान् प्राणी छैनन् भन्ने होइन तर तपाईँसँग उनीहरूसँग सम्पर्क गर्ने उपाय नहुन सक्छ, किनभने जमिनमुनि बस्नुहुन्छ।” बीबीसीबाट

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka