विराटनगर । चाडपर्व नजिकिएसँगै विराटनगर बजारमा किनमेल गर्ने उपभोक्ताको भीड बढ्न थालेको छ। तर, बजार र कोशी राजमार्गलाई जोड्ने प्रमुख सडक नै छेकेर सडक महोत्सव आयोजना गरिएपछि विराटनगरमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। सडक महोत्सवका कारण आवागमन प्रभावित भएको भन्दै सामाजिक सञ्जालमा समेत विरोध सुरु भएको छ।
स्थानीय व्यवसायीहरूका अनुसार सडक जामका कारण उपभोक्तालाई बजारसम्म आउजाउ गर्न कठिन भएको छ। जोगबनी बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा विराटनगर बजारमै सडक अवरुद्ध हुँदा व्यापार व्यवसाय थप प्रभावित भएको उनीहरूको भनाइ छ। चाडपर्वको समयमा व्यापार बढ्ने अपेक्षा गरिए पनि सडक जामका कारण ग्राहकको आवागमनमा कमी आउँदा समस्या भइरहेको स्थानीय व्यवसायीहरू बताउँछन्।
चाडपर्वकै समयमा सडक अवरुद्ध हुने गरी मेला तथा महोत्सव सञ्चालन गर्न अनुमति दिँदा सर्वसाधारणको आवागमन, व्यापार व्यवसाय र आपत्कालीन सेवामा पर्ने असरबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने स्थानीय व्यवसायीहरूको भनाइ छ।
विराटनगरको महेन्द्र चोकलाई सहरको मुटुका रूपमा लिइन्छ। तर, चाडपर्वको भीडसँगै महेन्द्र चोक आसपासका सडकमा विभिन्न मेला तथा महोत्सव आयोजना हुँदा बजार क्षेत्रको यातायात व्यवस्थापन थप अस्तव्यस्त बनेको छ। डीएसपी रोडदेखि रोडशेष चोकसम्मको क्षेत्रमा बजारबाट राजमार्गतर्फ निस्कन पर्याप्त वैकल्पिक ठूला सडक नहुँदा सवारी जामको समस्या बारम्बार दोहोरिने गरेको छ।
दसैँ संगै जलजला चोक क्षेत्रमा सडकको एक लेनबाट मात्रै सवारी सञ्चालन भइरहेको छ। काली मन्दिर परिसरसमेत दसैँका लागि सजाइएको र त्यहाँ चहलपहल बढेकाले सवारी आवागमनमा थप प्रभाव परेको छ। त्यसमाथि ट्राफिक चोकबाट राजमार्गतर्फ निस्कने सडकसमेत महोत्सवका कारण अवरुद्ध भएपछि सवारी चालकले थप सास्ती खेप्नुपरेको छ।
सडक जामको समस्या सर्वसाधारणको आवागमनमा मात्र सीमित छैन। कोशी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल पुग्ने एम्बुलेन्स तथा न्युरो अस्पताललगायत अन्य स्वास्थ्य संस्थातर्फ जाने सवारी साधनसमेत यही बजार क्षेत्र भएर आवतजावत गर्छन्। यस्तो अवस्थामा सडक अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
सडकमा मेला तथा महोत्सव सञ्चालन हुँदा ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई समेत सवारी व्यवस्थापन गर्न कठिन भइरहेको छ। एकातिर चाडपर्वको भीड, अर्कोतिर सडक नै ढाकेर आयोजना गरिने कार्यक्रमका कारण बजार क्षेत्रको यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
सडक महोत्सव र मेलाले मनोरञ्जन तथा व्यापारिक गतिविधिलाई प्रोत्साहन गरे पनि सर्वसाधारणको सहज आवागमन र आपत्कालीन सेवामा अवरोध नहुने व्यवस्था मिलाउनु आवश्यक छ। त्यसैले सम्बन्धित निकायले सडक प्रयोगको अनुमति, वैकल्पिक मार्ग र ट्राफिक व्यवस्थापनबारे पुनरावलोकन गरी चाडपर्वको समयमा बजार क्षेत्रको आवागमन सहज बनाउन ध्यान दिनुपर्ने देखिन्छ।
