सर्लाही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट लोकप्रिय कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि प्रमाणपत्र ग्रहण गर्दै रिजालले राजनीतिज्ञका रूपमा कला क्षेत्रका मुद्दा उठाउन नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले भने, “नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको मेरो राजनीतिक यात्रालाई अब थप अगाडि बढाउँदै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुँ। मेरो उपस्थितिले कांग्रेसमा कला क्षेत्रका मुद्दा र समस्यालाई अझ बलियो ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास लिएको छु।”
रिजाल सर्लाहीबाट तेस्रो पटक केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघका महामन्त्री समेत हुन्।
