Premier Cables

अर्थ

चीनसँगका तीनवटै नाका बन्द, दसैंअघि नै आपूर्ति शृंखला प्रभावित

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न ३:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण चीनसँग जोडिएका नेपालका तीनवटै प्रमुख स्थल नाका प्रभावित भएपछि चीनबाट हुने व्यापारिक आपूर्ति शृंखला अवरुद्ध भएको छ ।

दसैं आउन करिब दुई साता मात्रै बाँकी रहँदा तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापार प्रभावित बनेको हो । पहिरोको जोखिमका कारण तातोपानी–खासा नाका यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा क्षति पुर्‍याएपछि उक्त नाका पनि प्रभावित भयो ।

विज्ञापन

तातोपानी र रसुवागढी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्पका रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ । कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गअन्तर्गतका सडक तथा पुलका एप्रोचमा क्षति पुर्‍याएपछि कोरला पुग्ने बाटो अवरुद्ध भएको हो ।

कोरला नाका र भन्सार कार्यालय सुरक्षित रहे पनि बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । तीनवटै नाका प्रभावित भएपछि ठूलो परिमाणमा हुने स्थलमार्गको व्यापारमा प्रत्यक्ष असर परेको छ ।

कोरला नाकामा बढेको थियो व्यापारिक चाप

तातोपानी र रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट हुने आयातमा उल्लेख्य वृद्धि भएको थियो । भदौ १० देखि २५ गतेसम्म १५ दिनमा मात्रै कोरला नाकाबाट ४ सय ३४ कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

चालु आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सार कार्यालयले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको जनाएको छ । गत आर्थिक वर्षमा यही नाकाबाट १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ३ हजारभन्दा बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।

तर, अहिले सडक अवरुद्ध भएपछि नाकामा आएका मालवाहक सवारीसाधन तथा कन्टेनरसमेत रोकिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार भन्सार पासका क्रममा रहेका डेढ सयभन्दा बढी मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन् । यार्ड र नाकामा गरी ३ देखि ४ सय विद्युतीय गाडी तथा खाली र भरिएका कन्टेनर थन्किएका छन् ।

उनका अनुसार चीनतर्फबाट सवारीसाधनको फ्लो बढे पनि नेपालतर्फको सडक बन्द भएकाले व्यवसायीले तत्काल भन्सार जाँचपास गराउन चासो देखाएका छैनन् ।

दसैंको सामान बाटोमै रोकियो

नाका बन्द भएपछि चीनबाट आयात हुने कपडा, जुत्ताचप्पल, झोला, इलेक्ट्रोनिक्स तथा विद्युतीय सवारीसाधनको ढुवानी प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।

आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार दसैं लक्षित सामानमध्ये अहिलेसम्म करिब २० देखि ३० प्रतिशत मात्रै काठमाडौं आइपुगेको छ । बाँकी सामान बाटोमै रोकिएको उनले बताए ।

उनका अनुसार बाटो अवरुद्ध भएपछि ढुवानी खर्च बढ्नुका साथै डलरको मूल्यसमेत बढेकाले आगामी दिनमा आउने सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने अवस्था छ ।

ठूला मालवाहक सवारीसाधन सञ्चालन हुन नसकेपछि केही व्यवसायीले भारतबाट साना गाडीमार्फत सामान ल्याउने प्रयास गरे पनि त्यसको लागत बढी पर्ने व्यवसायीहरूको भनाइ छ ।

चीनबाट सामानको नियमित आपूर्ति नहुँदा बजारमा पुरानो मौज्दात र स्वदेशी उत्पादनले केही हदसम्म माग धानिरहेको छ । तर, लगातारको वर्षाका कारण बाहिरी जिल्लाबाट काठमाडौं आउने व्यापारीसमेत घट्दा थोक व्यापार प्रभावित भएको व्यवसायी दाहालले बताए ।

पूर्वाधार अभावले समस्या थपियो

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले चीनतर्फका तीनवटै नाका प्रभावित हुँदा व्यवसायी र बजारमा प्रत्यक्ष असर परेको बताए ।

उनले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक रहेको बताए । भूकम्पपछि तातोपानीमा ड्राइपोर्ट, पार्किङलगायतका पूर्वाधार निर्माण भए पनि नाका नियमित सञ्चालन हुन नसक्दा त्यसको उपयोग हुन नसकेको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार कोरला नाकामा पनि भन्सार पूर्वाधार, जनशक्ति, सफ्टवेयर र नेटवर्किङको समस्या रहेको छ । यी समस्या लामो समयदेखि रहँदा नाका सञ्चालनमा थप कठिनाइ भएको उनले बताए ।

कोरला हुँदै सामान ल्याउँदा भौगोलिक दूरी र सडकको अवस्थाका कारण ढुवानी खर्चसमेत बढ्ने व्यवसायीहरूको भनाइ छ । यसले चीनबाट आयात हुने वस्तुको लागतमा समेत प्रभाव पार्ने उनीहरू बताउँछन् ।

सडक विभागले क्षतिग्रस्त सडक तथा पुल मर्मतको काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ । बाटो सञ्चालनमा आएपछि नाकामा रोकिएका सामानलाई काठमाडौंलगायतका बजारसम्म पठाउन सहज हुने भन्सार अधिकारीहरूले बताएका छन् ।

हाल नाकामा ठूलो संख्यामा मालवाहक सवारीसाधन, कन्टेनर र विद्युतीय गाडी रोकिएकाले सडक कहिले सञ्चालनमा आउँछ भन्ने विषय चीनसँगको व्यापार पुनः सामान्य हुने प्रमुख विषय बनेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka