फायल फोटो
काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज १० गतेका लागि तय गरिएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमलाई मौसमको अवस्था हेरी आवश्यक समायोजन गर्न निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ–नगर अधिवेशन जारी रहेको कांग्रेसले जनाएको छ । हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको कांग्रेसले जनाएको छ । मौसम विभागलगायत विभिन्न निकायले आगामी केही दिनसमेत वर्षा कायम रहने भन्दै सतर्कता अपनाउन सूचना जारी गरेको सन्दर्भलाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशनका कार्यक्रमबारे निर्णय गरिएको हो ।
कांग्रेसले मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० मै प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम सम्पन्न गर्न भनेको छ । मौसम प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र निर्वाचन सम्पन्न हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
