Premier Cables

विराटनगर

भारी वर्षाको सम्भावना- विराटनगरमा २ हजार परिवार जोखिममा, महानगरले तोक्यो आश्रयस्थल

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | बिहान १०:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारी वर्षाको सम्भावनासँगै विराटनगरमा बाढी तथा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अस्थायी आश्रयस्थल पहिचान गरिएको छ। विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा जोखिममा रहेका घरधुरी पहिचान गरी विभिन्न वडा, विद्यालय तथा सार्वजनिक भवनलाई आपत्कालीन आश्रयस्थलका रूपमा तोकिएको हो।

सिंघिया र केशलिया खोलामा पानीको सतह बढ्दा विराटनगरका विभिन्न बस्ती प्रभावित हुँदै आएका छन्। सामान्य वर्षामै कतिपय क्षेत्रमा पानी जम्ने र ठूलो वर्षाका बेला खोलाको बाढी बस्तीमा पस्ने जोखिम रहेकाले सम्भावित प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

विज्ञापन

तर पहिचान गरिएका आश्रयस्थलमा ठूलो संख्यामा प्रभावितलाई राख्नुपर्ने अवस्था आए आवश्यक आधारभूत सुविधाको अभाव हुन सक्ने देखिएको छ। खानेपानी, शौचालय, सरसफाइ, स्वास्थ्य सेवा, खाना तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापन मुख्य चुनौती बन्न सक्ने भएकाले विपद् आउनुअघि नै तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ।

सिंघिया खोलाबाट १,७०० भन्दा बढी घरधुरी जोखिममा

सिंघिया खोलामा आउने बाढीबाट विराटनगरका वडा नम्बर १, २, ८, ९, १४, १८ र १९ प्रभावित हुन सक्ने आकलन गरिएको छ।

वडा नम्बर १ मा मात्रै गंगाटोल, कांग्रेस पार्टी कार्यालय आसपास, कुशलटोल, श्रीनगर, नयाँबस्ती, बेलगाछी, धर्मशाला, सुनामीटोल र विजयपुरका २५७ घरधुरी जोखिममा छन्। आपत्कालीन अवस्था आए उनीहरूलाई राधाकृष्ण धर्मशाला, वडा कार्यालयको सामुदायिक भवन, डनवस्को विद्यालय, राधाकृष्ण माध्यमिक विद्यालय, जनता बहुमुखी क्याम्पस, नेपाली कांग्रेस पार्टी कार्यालय, महेन्द्रेश्वर शिवालय र आरआरएन भवनमा सार्ने योजना छ।

वडा नम्बर २ का सरस्वती टोलका ७५ र तीनपैनी पूर्वटोलका २५० घरधुरीका लागि ओशो अध्ययन केन्द्र परिसर, हनुमान मन्दिर सामुदायिक भवन र चित्रगुप्त सामुदायिक भवनलाई आश्रयस्थलका रूपमा पहिचान गरिएको छ।

वडा नम्बर ७ का हरियाली टोल, सरस्वती टोल, संसारी साकम्बरी, गहेली टोल, धर्मभक्त र हाटखोलाका २०५ घरधुरी पनि बाढीको उच्च जोखिममा छन्। उनीहरूका लागि वीरेन्द्र सभागृह, मारवाडी सेवा सदन, अतिथि सदन, जैन भवन, अतिथि गृह, साकम्बरी सेवा सदन, कभर्ड हल र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखालाई सम्भावित आश्रयस्थलका रूपमा राखिएको छ।

वडा नम्बर ८ मा बालगोपाल टोल, पशु बधशाला क्षेत्र, विराटेश्वर वृद्धाश्रम क्षेत्र, स्वागतम टोल, बलुवाही र विश्वकर्मा चोक आसपासका ४५० घरधुरी जोखिममा छन्। उनीहरूका लागि वृद्धाश्रम ज्ञानकुञ्ज, हाटखोला मैदान, पशु बधशाला क्षेत्र, छैटी माताको मन्दिर, शिव मन्दिर, राधाकृष्ण मन्दिर तथा हाटखोला सामुदायिक भवन पहिचान गरिएको छ।

वडा नम्बर ९ का भानुटोल क, भानुटोल ख, शिवटोल र साझा टोलका करिब १०० घरधुरीका लागि महानगरपालिकाका ब्लक ‘क’ र ‘ख’, सरस्वती माध्यमिक विद्यालय, रामजानकी सेवा सदन तथा शीतल धर्मशालालाई आश्रयस्थलका रूपमा प्रयोग गर्ने तयारी छ।

वडा नम्बर १४ मा ठाकुरटोलका ५००, विष्णुटोलका ५०, बयरवनाका १००, शिवटोलका ११५, सुकुम्बासी बस्तीका ३५, हँसमुखी टोलका १०० र नयाँ टोलका ५० घरधुरी जोखिममा छन्। उनीहरूलाई आवश्यक परे रामजानकी मन्दिर, डिग्री क्याम्पस र रामजानकी सामुदायिक भवनमा सार्ने योजना छ।

वडा नम्बर १८ को झटियाही–लबटोलियाका करिब १०० घरधुरीका लागि रेल्वे स्टेसन र सामुदायिक भवनलाई आश्रयस्थलका रूपमा पहिचान गरिएको छ।

वडा नम्बर १९ का माथिल्लो खापटोल, तल्लो खापटोल, सुन्दरटोल, घिनाघाट मुसहरटोल, शिशबनी, काठेपुल तथा धनपुरा–चम्रुटोलका ३५८ घरधुरी जोखिममा छन्। उनीहरूका लागि रंगशाला क्षेत्र, सभाहल निर्माण क्षेत्र, दुर्गामन्दिर, रामजानकी मन्दिर तथा प्रणामी मन्दिर धर्मशालामा बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको छ।

केशलिया क्षेत्रका बासिन्दाका लागि पनि आश्रयस्थल तोकियो

केशलिया खोलामा पानीको सतह बढ्दा विराटनगरका वडा नम्बर ४ र ५ का बस्ती प्रभावित हुन सक्ने देखिएको छ।

वडा नम्बर ४ को चमाही टोलका १७ र इक्राही पश्चिम खोला किनारका ७ घरधुरी उच्च जोखिममा छन्। सम्भावित प्रभावितलाई नोबेल अस्पताल क्षेत्र, कञ्चनबारी वडा कार्यालय क्षेत्र, दाहाल प्रतिष्ठान, मृदुला कार्की सेवा समाज, नोना कोइराला ट्रस्ट, साझा संस्था, राधारमण मन्दिर तथा लक्ष्मीनारायण मन्दिरमा राख्ने तयारी गरिएको छ।

त्यस्तै वडा नम्बर ५ को शंकरबारीका ६७ घरधुरीका लागि तोदी भवन, क्रिश्चियन चर्च, जामुनेश्वर सामुदायिक भवन र सिद्धकाली आधारभूत विद्यालयलाई आश्रयस्थलका रूपमा तोकिएको छ।

आश्रयस्थलमा आधारभूत सुविधा व्यवस्थापन मुख्य चुनौती

सम्भावित बाढी प्रभावितलाई कहाँ र कसरी राख्ने भन्ने प्रारम्भिक योजना तयार भए पनि आश्रयस्थलको क्षमता र आधारभूत सुविधाको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ।

एकैपटक ठूलो संख्यामा परिवार विस्थापित भए उपलब्ध भवनले सबैलाई धान्न नसक्ने अवस्था आउन सक्छ। पर्याप्त खानेपानी, शौचालय, सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था नहुँदा आश्रयस्थलमै स्वास्थ्यसम्बन्धी समस्या तथा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले पूर्वतयारी आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि जोखिममा रहेका घरधुरी पहिचान गरी आवश्यक परे सुरक्षित स्थानमा सार्ने तयारी गरिएको बताए।

उनका अनुसार विराटनगरका विभिन्न वडामा रहेका सार्वजनिक तथा अन्य उपयुक्त भवनलाई आपत्कालीन अवस्थामा आश्रयस्थलका रूपमा प्रयोग गर्ने गरी योजना बनाइएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विपद् पूर्वसूचना दिएर मात्र नआउने भएकाले उद्धार तथा राहतका लागि सबै संयन्त्र तयारी अवस्थामा राख्नुपर्ने बताए। सम्भावित जोखिमको सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्न महानगरका संयन्त्रलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka