






विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको विराटनगर महानगरपालिकाको भवन पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र रूपमा अघि बढाइएको छ।
हालसम्म महानगरले जलेका सबै कोठाहरूको सरसफाइ सम्पन्न गरी अत्यावश्यक सेवा आंशिक रूपमा सुचारु गरिसकेको छ।
भवनको संरचना मर्मत गरेर पुनः प्रयोग गर्न सकिने वा नसकिने विषयमा निष्कर्ष निकाल्न महानगरले आइतबार एक विज्ञ प्राविधिक टोलीद्वारा भवनको अवलोकन गराएको हो।
सो टोलीमा मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियर अविनाशकुमार मण्डल, नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेलगायतका प्राविधिक सहभागी थिए।
टोलीले महानगरका सबै कोठाको निरीक्षण गरेको थियो। प्रारम्भिक अवलोकनका आधारमा मर्मत गरेर भवन पुनः सञ्चालनमा ल्याउन सकिने निष्कर्ष टोलीले दिएको महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विशेष गरी भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घर नक्सा शाखा र बैठक कोठामा बढी क्षति पुगेको थियो। तीनवटा मुख्य भवनमध्ये राजस्व महाशाखा रहेको प्रवेशद्वार छेउको भवनमा सबैभन्दा बढी क्षति पुगेको छ।