






नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । यतिबेला इरान इजरायल युद्ध जारी छ । इरानमा विभिन्न आणविक प्रयोगशालाहरुमा इजरायलले आक्रमण गरेपछि तनावको अवस्था छ ।
इजरायलको आक्रमणमा इरानका उच्च सैन्य अधिकारीहरुको हत्या गरेको भन्दै इरानले पनि जवाफी कारवाही गरिरहेको छ । युद्धकै अवस्थामा विराटनगरका मेयर नागेश कोइरालाको इजरायल भ्रमणमा रहेका छन् । धेरै सर्वसाधारणलाई उनको अवस्था के छ रु भन्ने चासो छ । सामाजिक सञ्जालमा इजरायल पुगेपछि कोइरालाको तस्बिर उनको सचिवालयले सार्वजनिक गरेको थियो । तर, मेयर कोइरालाले आफू खतरापूर्ण अवस्थामा नरहेको बताएका छन् । आफ्नो निजी सचिवालयका पदाधिकारीसँग आइतबार बिहान कुराकानी गर्दै कोइरालाले आफू इजरायलको राजधानी जेरुसलेमा सुरक्षित रहेको बताएका हुन ।
विभिन्न देशका मेयरहरु हाल इजरायल भ्रमणमा छन् । सहरी विकास र फोहोर व्यवस्थापन सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रममा सहभागी हुन मेयर कोइराला पनि त्यसतर्फ प्रस्थान गरेको कोइरालाका प्रेस सल्लाहकार मनीकुमार नवोदित श्रेष्ठले बताएका छन् । श्रेष्ठले बताएअनुसार आज बिहान पनि कोइरालासँग उनको कुराकानी भएको थियो । इजरायलको विमानस्थल खुल्नासाथ मेयर कोइराला फर्कने बताएका छन् ।
इजरायल आक्रमणको प्रतिरोध स्वरुप इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा क्षति पुगेको छ । बत याम सहरमा एक भवनमा मिसाइल खसेको थियो । घटनामा सात जनाको मृत्यु भएको थियो । एक सय जना घाइते भएको अन्तर्राष्ट्यि समाचार संस्थाहरुले जनाएका छन् । इजरायलभर त्यहाँको सरकारले संकटकाल घोषणा गरेको छ ।