विराटनगर । मोरङको जहदावासीका तर्फबाट संकलन गरिएको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पुगेर वितरण गरिएको छ। जहदाका युवाहरूको सक्रियता सञ्चालन गरिएको राहत संकलन अभियानअन्तर्गत संकलित राहत सामग्री आज बिदुर नगरपालिका–१, तिमुरे, त्रिशूली किनार क्षेत्रमा पुगेर बाढी प्रभावित परिवारलाई वितरण गरिएको हो।
राहत टोलीले उक्त क्षेत्रमा १५० परिवारलाई राहत सामग्री वितरण गरेको अभियानका नेतृत्वकर्ता नितेश कुमार साहले जानकारी दिनुभयो।
प्रत्येक राहत प्याकेजमा १५ केजी चामल, १ केजी दाल, १ लिटर सनफ्लावर तेल, १ केजी नुन, २ केजी आलु, १ प्याकेट सोयाबिन, ३ केजी भुजा, १।५ केजी चुरा, ६ प्याकेट चाउचाउ, १ पिस साबुन, ५ पिस स्याम्पु र १ पिस सेनेटरी प्याड समावेश गरिएको थियो। साथै, बाढी प्रभावित परिवारलाई लत्ताकपडासमेत वितरण गरिएको छ।
जहदावासीको तर्फबाट एक ट्रक राहत सामग्री पठाउने उद्देश्यले अभियान सञ्चालन गरिए पनि स्थानीयवासीको उत्साहजनक सहभागिताका कारण एक ट्रकभन्दा बढी राहत सामग्री संकलन भएको थियो। राहत टोलीले करिब २०० परिवारलाई पुग्ने २०० बोरा राहत प्याकेज तयार गरेको भए पनि सवारीसाधनको क्षमताका कारण तत्काल १५० बोरा मात्र प्रभावित क्षेत्रमा पुर्याउन सकिएको जनाइएको छ।
बाँकी ५० बोरा राहत सामग्री जहदामै रहेको र उक्त सामग्रीलाई वैकल्पिक माध्यमबाट बाढी प्रभावित क्षेत्रमा पुर्याउने योजना रहेको राहत टोलीले जनाएको छ।
अभियानमार्फत संकलित राहत सामग्री बाढी प्रभावित परिवारसम्म पुर्याई वितरण गर्न सहयोग गर्ने जहदाका सम्पूर्ण स्थानीयवासी, युवा, सहयोगदाता, व्यवसायी, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सबैप्रति राहत टोलीले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, विपद्को समयमा मानवीय भावनाका साथ अभियानमा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति टोलीले विशेष धन्यवाद ज्ञापन गरेको छ।
