विराटनगर । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको आशंकामा विराटनगर–१७ मटेर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा केराउ र चनाको दाल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले शुक्रबार बिहान मटेर्वाका दुईवटा घरमा खानतलासी गर्दा १६ बोरा केराउ र २५ बोरा चनाको दाल गरी कुल ४१ बोरा खाद्यान्न बरामद गरेको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश शर्माको कमान्डमा खटिएको ३० जनाको टोलीले मो. मुन्ना मियाँको घरबाट ११ बोरा केराउ तथा अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल र ५ बोरा केराउ फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद खाद्यान्न मुन्ना मियाँका भिनाजु गुड्डु मियाँको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतबाट भरियामार्फत खाद्यान्न नेपाल भित्र्याएर मटेर्वाका विभिन्न घरमा लुकाउने र आवश्यकताअनुसार विराटनगर बजारतर्फ पठाउने गरिएको हुन सक्ने प्रहरीको भनाइ छ।

भारतबाट भन्सार छली खाद्यान्नलगायतका वस्तु नेपाल भित्र्याएर सीमावर्ती क्षेत्रका घरमा भण्डारण गर्ने गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले मटेर्वामा निगरानी तथा खानतलासी गरेको थियो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ।
